रबिन्द्र प्रजापति, पुस ०२ गते रौतहट ।
सर्लाहीको हुलाकी सडक निर्माण कार्य अघि बढाउन जिल्लाबासीको माग रहेको छ
सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य अघि बढाउन विभागिय मन्त्री र सडक विभागका महानिर्देशकसँग माग गरिएको छ ।
नगरप्रमुख निरसल साह नेतृत्वको टोलीले संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग भेट गरेर सडकको काम अघि बढाइदिन माग गरेको हो ।
नगरप्रमुख साहका अनुसार भेटमा मन्त्री यादव र महानिर्देशक थापाले सडकको काम अघि बढाउन ठेकेदार र अन्य निकायलाई घच्घच्याउने आश्वासन दिएका छन्।
पूर्व–पश्चिम हुलाकी राजमार्ग अहिले असाध्य जिर्ण अवस्थामा रहेको छ । सडकको धूलोले यात्रुसँगै सडक छेउछाउ घर भएका वासिन्दा मारमा परेका छन् ।
जिल्लाका सांसद, पालिकाका प्रमुख, अन्य सरोकारवाला र सर्वसाधारणले बारम्बार आन्दोलनको कार्यक्रम गर्नेदेखि सरकारका मन्त्री र उच्च अधिकारीहरुसँग भेट गरेर सडकको अवस्थाबारे ध्यानाकर्षण गराएपनि हुलाकी सडक निर्माण हुन सकेको छैन् ।
सो सडक हिउँदमा अत्यन्तै धूलाम्मे र वर्षायाममा हिलाम्मे हुने भएको कारण जिल्लावासी हैरान भएका छन्।