प्रदेश २ मा देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै

रबिन्द्र प्रजापति, पुस २७ गते रौतहट ।

मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो ।

यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा ९९ जनाको स्वाब परीक्षण गरिएकामा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ । यता कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश २ का जिल्लाका भारतसँग सीमा जोडिएका नाकामा कडाइ गरिएको बताइएको छ ।

16 Push 077 final

छिमेकी राष्ट्र भारतमा दैनिक एक लाखभन्दा बढीमा सङ्क्रमण देखिएपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमानाकामा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरिएको जानकारी दिनुभयो ।

महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी भारतबाट आउनेको स्वास्थ्य परीक्षण सुरु गरिसकेको छ । प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा पालिकामा पनि हेल्पडेस्क सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

प्रदेश २ को बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब ४६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ । प्रदेश २ का कतिपय स्थानीय तहले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयले जनाएको छ । ओमिक्रोन भाइरसको जोखिम बढ्नुका साथै सङ्क्रमितसमेत दैनिक वृद्धि हुनुले जनकपुरधामलगायतका प्रदेश २ का अधिकांश नाका कोरोनाको ‘हटस्पट’ बन्न सक्ने चिकित्सकले बताएका छन् ।