प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने

बौद्धिमाई खबर न्यूज डेस्क, पुस २७ गते रौतहट ।

प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने भएको छ ।

प्रदेशसभामा पेश भएको प्रस्तावहरुमध्ये कुनैमा पनि सहमती नभएपछि अब मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको. छ ।

प्रदेश सभामुख सरोजकुमार यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।

सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो ।

16 Push 077 final

समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो ।

मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा नाम र राजधानीको प्रस्ताव पुनः अस्वीकृत हुने जोखिम छ । नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक छ ।

जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक हुन्छ ।

अन्य प्रस्तावहरू जानकीको पक्षमा एमाले र नेकपा (एकीकृत समाजवादी) का २१ जना, १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा गरेका छन् भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन् ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामै मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति गरेको बताए ।