आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनबीच सहमति

काठमाडौँ, माघ ४ गते ।

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनबीच सहमति भएको छ । स्थानीय चुनावका बारेमा थप छलफल भने बाँकी रहेको र चाँडै बैठक बसेर टुंग्याइने नेताहरुले बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा नेताहरु आउँदो वैशाखमै चुनाव गर्न सहमत भएका हुन् ।

16 Push 077 final

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको जानकारी दिए । थप गृहकार्य गरेर आउँदो बिहीबार फेरि बैठक बस्ने उनले बताएका छन् । बिहीबारको छलफलपछि चुनावको मिति तोकिने सम्भावना छ।

निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाख १४ र २२ गते गर्न सरकारलाई सिफारिस गरेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनअघि चुनाव गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै आयोगले वैशाखमै चुनाव गर्न ताकेता गरिरहेको छ।

उता प्रमुख प्रतिपक्षी दल एमालेले पनि कानुनी व्यवस्थाअनुसार नै चुनाव गर्नुपर्ने बताउँदै आएको छ। मंगलबार बसेको सत्ता गठबन्धनको निर्णयसँगै आउँदो वैशाखमा स्थानीय तहको चुनावका लागि राजनीतिक वातावरण बन्ने संकेत देखिएको छ।