बारा, भदौ २७ गते ।
घाँस दाउराको बहानामा जंगलमा हुने गरेका छाडा यौन गतिविधि रोक्न बारा प्रहरी अघि सरेको छ। जंगलमा घाँस दाउरा खोज्ने बहानामा ट्रक तथा मोटरसाइकल चालकसँग मोलतोलका साथ जंगलमै हुँदै आएको यौन क्रियाकलाप रोक्न प्रहरी लागि परेको हो। बाराको आधाभार जंगल तथा पथलैयादेखि पसाहासम्मको सडक वरपर समूहगत रुपमा ३ देखि ७ जना महिला सधैँजसो देखिन्छन्। गैरकानुनी यौन गतिविधिमा संलग्न ३ जना भारतीय महिलालाई जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने तीनैजना भारतको मोतिहारी निवासी तथा नेपाली बोल्न नजानेकाहरू छन्। यसबाट जंगलमा हुने यौन गतिविधिमा भारतीय महिला संलग्न रहेको पुष्टि भएको छ। उमेरले पाका जस्ता देखिने ती महिलाहरू सो सडकमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन्।
कुनै कुनै चालकसँग रकमको बार्गेनिङ मिल्न समय लाग्छ भने कुनैसँग तत्काल कुरा मिल्छ। त्यसपछि सवारी सडकमै रोकेर चालक ती महिलासँग जंगलभित्र पस्छन्। जंगलभित्र भएका महिला सडकछेउमा देखिने महिलाभन्दा कम २५–३७ वर्षका हुन्छन्। बिहान १० बजेपछि दिउँसो ४-५ बजेसम्म सडकमा सवारी रोकिने र जंगल यौनधन्दा हुने गरेको पनि निकै लामो समय भैसकेको स्थानीय बताउँछन्।
पाका उमेरका देखिने र घाँस दाउरा खोजेजस्तो लाग्ने महिलाहरूले संरक्षण दिने भएर पनि प्रहरीले उचित कारबाही गर्न नसकेकाले अब अपरेशन शुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन।