कुम्महार समुदायले माटोको दियो बनाउन भ्याइनभ्याइ
रबिन्द्र प्रजापति, असोज ३० गते रौतहट ।
उज्यालोको पर्व रुपैयाँ चिनिने तिहार लक्ष्मीपूजा अर्थात् दीपावली नजिकिएसँगै माटाका भाँडाकुडा बनाउने कुम्महार समुदायलाई यतिबेला माटोको दियो बनाउन भ्याइनभ्याइ छ। अन्य समयमा फुर्सदिलो भए पनि तिहार आएपछि उनीहरूको व्यस्तता बढ्ने गर्दछ।
झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहार दिपावलीमा अन्य समयभन्दा बढी माटाका दियो‚ धुपोउरोलगायतका समाग्रीहरुको माग हुने गरेको छ।
रौतहटका कुमालेहरु यति बेला माटाका दियो बनाउन व्यस्त छन्।
उनीहरुले बनाएका माटाका भाँडा गरुडा, शिवनगर,कटहरिया,समनपुर, डुमरिया, चन्द्रनिगाहपुर लगाएतका विभिन्न बजारमा बिक्री वितरण हुने गरेको छ।
कुमालेहरुले बनाएका दियो होलसेल र खुद्धामा बिक्री हुँदै आएको छ। चिने जानेकाले केही घरमा आएर खरिद पनि गर्ने गरेको छ ।
माटोका भाँडाकुडा बनाउने परम्परागत पेशा भए पनि युवा पुस्ता उक्त पेशामा आकर्षित नभएकाले चाडबाडका बेला माग धान्न गाह्रो हुने कटहरिया नगरपालिका वडा नं. ५ का ५० वर्षीय हरिनारायण पंडित कुमालेले बताए।
माटाका भाडा बनाउने पेशाबाट थोरै आम्दानी हुने भन्दै युवा पुस्ताले परम्परागत पेशालाई अवमूल्यन गरेको उनको बुझाइ छ।
माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवर्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने पंडितले बताउँछन्।
पुर्खाले अँगाल्दै आएको पेशालाई आफूहरुले छोड्न नसके पनि माटोको भाँडाकुँडा बनाउने पेशाबाट अन्य पेशामा जस्तो आम्दानी नहुने हुँदा जीविकोपार्जन मै समस्या हुने गरेको कटहरिया ५ का अकलु पंडित कुम्हारले बताउँछन्।
पछिल्लो समय आल्मोनियम र प्लाष्टिकका भाँडासँग माटोको भाँडाले प्रतिस्पर्धा गर्न सकिरहेको छैन। प्लाष्टिकका सामान सस्तोमा पाउँछ। माटोको भाँडाकुडा भने माटो, दाउरा र रंगरोगनका सामग्रीको
मूल्य बढेका कारण पनि सस्तोमा दिन नसकेको कटहरिया ५ का हरीनारायण पंडित कुम्हारले बताएका छन ।
त्यसैगरी यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर
प्रज्ज्वलित गर्ने चलन रहे पनि छिल्लो समय बिजुलीबाट बल्ने झिलिमिली बत्तीको प्रचलन बढ्दो छ। यसले पनि माटोको भाँडाकुडा बिक्रीमा कमी आएको कुम्हारहरुले बताएका छन। यो वर्षको दिपावली कार्तिक ७ गते परेको छ ।