बारा निर पानी उद्योग संचालक सिंहको घाँटी रेटेर निर्ममतापूर्वक हत्या

बारा, १२ मंसिर । बारा जिल्लामा अपराध बेलगाम बन्दै गएको छ । जसको उदाहरण स्वरुप एक ब्राण्डेड उद्योगका संचालकको धारिलो हतियारबाट घाँटी रेटेर मिर्मतापूर्वक हत्या गरिएको अवस्थामा शव बरामद भएका छन् ।
बाराको प्रसौनी गाउँपालिका–६ भलुही चोकमा संचालित “निर” ब्राण्डका उद्योग किरण बिग्रेज नेपाल प्रालीका संचालक एवं व्यवस्थापक रामकिशोर सिंहको विहिवार राति धारिलो हतियारबाट घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा शव फेला परेका हुन् ।
सर्लाही धनकौल गाउँपालिका–२ का ४२ वर्षीय सिंह लामो समयदेखि सोही उद्योग परिसरमा बस्दै आएका थिए । आज बिहान करिब ८ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा डिएसपी विजयराज पण्डितले प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या भएको बताए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी नेतृत्वको टोली, इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक उपेन्द्र श्रेष्ठसहितको टोली पुगेर तालिमप्राप्त कुकुर परिचालन गरी सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए ।
शव उठाउनुअघि मृतकका आफन्तको प्रतिक्षा भईरहेको र मुचुल्का तयार गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको डिएसपी पण्डितले भने । हत्याको कारण, संलग्न व्यक्ति वा समूह र उद्देश्यबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।