
रौतहटमा विभिन्न पार्टीका दर्जनौँ नेता–कार्यकर्ता जसपामा प्रवेश
जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहट जिल्ला समितिको आयोजनामा दुर्गाभगवती गाउँपालिका–४ पचरुखी पोखरीको तटमा सम्पन्न पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रममा झण्डै दुई सयभन्दा बढी नेता–कार्यकर्ताले विभिन्न दल परित्याग गरी सामूहिक रूपमा जसपामा प्रवेश गरेका छन् ।
कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले विशेष सम्बोधन गर्दै नवप्रवेशीहरूलाई स्वागत गरे । साथै उनले समावेशीता, समानता, मधेसको पहिचान र स्थानीय विकासका एजेन्डालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नवप्रवेशीहरूको आगमनले पार्टीलाई झनै सबल बनाएको बताए ।
त्यसैगरी, जिल्ला अध्यक्ष राजिव रंजन उर्फ राजु यादवले पनि कार्यक्रमलाई सम्बोधन गर्दै ‘जेन–जेड’ पुस्ताको हक–अधिकार, राजनीतिक सहभागिता, रोजगारीका अवसर र स्थानीय नेतृत्व विकासमा जसपा नेपाल प्रतिबद्ध रहेको जनाएका थिए । उनले युवा पुस्ताको सहभागिता बिनाको राजनीति सम्भव नहुने बताउँदै नवप्रवेशी युवालाई पार्टीमा सक्रिय भूमिका खेल्न आग्रह समेत गरे ।
कार्यक्रममा जनमत पार्टी परित्याग गर्दै बौधिमाई नगरपालिका–६ का वडा अध्यक्षका पूर्व–प्रत्याशी विजय यादव तथा आम जनता पार्टी छाडेर बौधिमाई नगरपालिका–४ का नेता स्माइल मियाले औपचारिक रूपमा जसपाको सदस्यता ग्रहण गरे ।
यस्तै, दुर्गाभगवती गाउँपालिका–१ निवासी तथा हालै सशस्त्र प्रहरी बलको रोजगारीबाट राजीनामा दिएका चन्दन ठाकुरले पनि आजै पार्टी प्रवेश गरेका छन् ।
जिल्ला समितिका अनुसार, विभिन्न दलका करिब दुई सय नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा जसपा प्रवेश गरेका छन् । नेताहरूले नवप्रवेशी कार्यकर्ताहरूसँगै पार्टीलाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्म मजबुत बनाउने लक्ष्य व्यक्त गरे ।