रौतहट क्षेत्र नं ३ मा सत्ता गठबन्धन भत्कियो, स्वतन्त्र उम्मेदवारलाई गठबन्धनको साथ


रबिन्द्र प्रजापति
कार्तिक १० गते, रौतहट ।

रौतहट क्षेत्र नं ३ को राजनीतिले नयाँ मोड लिएको छ ।
निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा ख का सत्तारुढ पाँच दलीय गठबन्धनका नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार सुनिल कुमार यादव उर्फ जितेन्द्रले आफना गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार धिरज पटेललाई बाइपास गरी प्रतिनिधिसभाका नेपाली कांग्रेसकै बागी स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाई साथ दिएपछि नयाँ तरंग पैदा भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट नै नेकपा एकिकृत समाजवादी पार्टीबाट क्षेत्र नं ३ (क) को प्रदेश सांसदका लागि उम्मेदवारी दिएका नागेन्द्र यादवले पनि यसअघि नै सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पटेलको साथ छाडिसकेका छन । पटेलको साथ छाडेका यादव प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाई सघाइरहेका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले रौतहट क्षेत्र नं ३ को माओवादी केन्द्रबाट धिरज पटेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुँदाहुँदै आफुखुसी धिरजलाई बाइपास गरी अर्का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्न अर्थात सहयोग गर्ने निर्णय गरेपछि सत्ता गठबन्धनकै नेताहरु असन्तुष्ट भएका थिए ।
असन्तुष्ट बनेका नेकपा माओवादी केन्द्रका अधिकांश नेता कार्यकर्ता सहित नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीका सिंगो नेता कार्यकर्ता नै प्रभु साहलाई आफुहरु कुनै हालतमा गठबन्धनको उम्मेदवार स्वीकार गर्न नसक्ने भन्दै कांग्रेसका बागी उम्मेदवार जयसवालको साथ दिएका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले धिरजलाई फिर्ता हुन र अर्का स्वतन्त्र उम्मेदवार पुर्व मन्त्री प्रभु साहलाई समर्थन गर्न जिल्लाका सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गरेपनि प्रदेश सांसदका दुबै उम्मेदवार साह र धिरजलाई समर्थन गर्न अस्वीकार गरी कांग्रेसका बागी उम्मेदवार ओम प्रकाश जयसवाललाई समर्थन गरी घरदैलो कार्यक्रमलाई तिव्रता दिरहेका छन् ।
धिरज पटेलबाट प्रभु साह पराजित हुन नसक्ने र ओम प्रकाश जयसवालले साहलाई पराजित गर्न सक्ने अवस्था देखिएपछि कांग्रेस र नेकपा एसका दुबै प्रदेश सांसदका उम्मेदवारहरुसँगै माओवादी केन्द्रका केन्द्रिय सदस्य विन्देश्वर यादव, युवा नेता नश्रुदिन अन्सारी, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव सहितका नेताहरु स्वतन्त्र उम्मेदवार जयसवाललाई नै खुलेर साथ दिएका छन् ।
कटहरिया नगरपालिका वडा नं ४ हर्षाहामा विहिवार नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा ख का उम्मेदवार सुनिल यादवले प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जयसवालसँग संयुक्त रुपमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गरेका छन् ।
सो कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमल यादवले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालको जित कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गरेका छन् ।
जयसवाल स्वतन्त्रबाट चुनाव लडेपनि उनलाई सत्ता गठबन्धनको पुर्ण साथ र सहयोग रहेकोले उनको जित कसैले रोक्न नसक्ने उनले बताए ।
परिवारवाद र भ्रष्टाचारमा लिप्त, आफना व्यक्तिगत स्वार्थका लागि पटक पटक पार्टी परिवर्तन गर्ने, हत्या, हिंसा जस्ता कार्यलाई बढावा दिने तथा तानाशाही प्रवृति देखाउने प्रभु साहको तानाशाही प्रवृतिका कारण जनता आजित भइसकेकोले उनलाई हराउन सहयोग गर्नुको सट्टा गठबन्धनले उल्टै समर्थन गर्न भनेपछि आफुहरु जयसवाललाई साथ दिएको उनले बताए ।
आफना व्यक्तिगत स्वार्थ पुर्तिका लागि पटक पटक पार्टि परिवर्तन गर्ने, प्रचण्ड मुक्त देश बनाउनु पर्छ भनी अभिव्यक्ति दिने, हत्या, हिंसा जस्ता कार्यलाई बढावा दिने, भ्रष्टाचार तथा परिवारवादमा लिप्त साहलाई आफुहरु कुनै हालतमा समर्थन नगर्ने उनले बताए ।
क्षेत्र नं ३ लाई हत्या, हिंसा र आतंकबाट मुक्त गर्न आउँदो निर्वाचनमा स्वतन्त्र उम्मेदवार जयसवाल जित्नुको विकल्प नरहेको उनले बताए ।
सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विन्देश्वर यादवले प्रभु साहको पराजय यसपालि निश्चित नै हुने ठोकुवा गरेका छन ।
साहको तानाशाही प्रवृति अन्त्य गर्न र क्षेत्रलाई हत्या, हिंसाबाट मुक्त गराउन आउँदो निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल जित्नुको विकल्प नरहेको उनले बताए ।
जयसवाललाई कांग्रेस, नेकपा एकिकृत समाजवादी, माओवादी, नेकपा एमाले र जनता समाजवादी पार्टीको पुर्ण साथ र सहयोग रहेको कारण उनको जित निश्चित नै रहेको उनले दाबी गरे ।

error: Content is protected !!