रौतहटमा गएराती एक जनाको हत्या
रौतहट । असार २९ गते ।
रौतहटमा गएराती एक जनाको हत्या भएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ ।
विहीबार राती जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राति सुतेकै स्थानमा साहको हत्या भएको हो । उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनु भयो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको एसपी बुढा मगरले बताए ।
घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको उपरीक्षक बुढामगरले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी श्रीमतीले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।