रौतहट बम काण्ड: मोहम्मद आलमविरुद्धको मुद्दामा साक्षी तथा गवाह बुझ्ने आदेश

बौधिमाई खबर, माघ २८ गते रौतहट ।
रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।
आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गौरीशङ्कर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने आदेश गरेको हो ।
साथै सरकारी साक्षी तथा गवाह बुझ्ने गरी पनि न्यायाधीश आचार्यको इजलासले आदेश दिनुभएको रौतहट जिल्ला अदालतका स्रेस्तादार उद्धव ढोडारीले जानकारी दिनुभयो ।
वि।सं २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।
२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि लागेको छ ।
२०७६ कात्तिक १८ गते आलममाथि रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो । यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । २०७६ माघ २४ गते उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो । यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । सभार : गोरखापत्र अनलाइन

16 Push 077 final