आज असार १५ गते , दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

असार १५ गते रौतहट ।
असार १५ को दिन आज धान दिवसको अवसरमा खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
यस्ता शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ ।
यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बनेको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

error: Content is protected !!