पर्सामा जग्गा विवादको बिषयलाई लिएर पारिवारिक प्रतिसोधका कारण सुपारी दिएर दुई जनाको हत्या गरेको खुलासा

असार १९ गते, विरगञ्ज । जग्गा विवादको विषयलाई लिएर पारिवारिक प्रतिसोधका कारण सुपारी दिएर दुई जनाको हत्या गरेको खुलेको छ । गत जेठ २९ मा पर्सा जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारमा नेपाल तर्फको सिमानाको दशगजा भन्दा ८० मिटरभित्र खाली जग्गामा गाडिएको अवस्थामा दुई शव बरामद भएको थियो ।

वन्यजन्तुले शव खोस्रिरहेको सूचना आएपछि जिल्ला प्रहरी पर्साबाट विशेषज्ञ टोली परिचालन गरिएको थियो । जेठ ३० मा दुबै शवको पहिचान खुलेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पहिलो शव बारा कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकवाल कुम्हालको र दोस्रो शव बाराकै आदर्शकोतवाल गाउँपालिका–७ निवासी ४० वर्षीय सुरेश ठाकुर लोहारको रहेको थियो ।

करिब तीन साताको अनुसन्धान पछि पर्सा प्रहरीले बुधबार कुम्हाल र ठाकुरको हत्या पारिवारिक रिसईबी र जग्गा जमिनको विवादका कारण गरिएको जनाएको छ ।

हत्यामा संलग्न मूख्य योजनाकारसहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जगरनाथपुर गाउँपालिका–५ का ३२ वर्षीय सन्तोष प्रसाद कुम्हाल, जगरनाथपुरकै ४५ वर्षीय महादेव महतो नुनिया र बारा कलैया उपमहानगरपालिका–५ का ३३ वर्षीय लक्ष्मणकुमार प्रजापति मूख्य योजनाकार रहेको प्रहरी प्रवक्ता डीएसपी दिपक भारतीले बताए ।

मूख्य योजनाकारले हत्या गर्ने पूर्व योजना बनाई कुम्हाल र ठाकुरलाई झारफुक एवम् धामीझाँक्रीको काम रहेको भन्ने विश्वासमा पारि बाराबाट घटनास्थलसम्म बोलाएको देखिएको डीएसपी भारतीले जनाए ।

error: Content is protected !!