दुर्घटना हुँदा ३ को मृत्यु ११ घाइते

बर्दीवास, ३१ साउन । सिन्धुली जिल्लामा विहिवार विहानै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
आज विहान सबा ९ बजेको समयमा कमलामाई नगरपालिका वडा नम्वर २ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुली तर्फ आउदै गरेका बा. २० च. ८२८३ नम्वरको जिप आफैं अनियन्त्रित भई उक्त दुखद दुर्घटना भएका हुन् ।
जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका तिनै जनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान १०.२० बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक केशवबहादुर कटवालले बताए ।
घाइतेहरु ११ जना मध्ये जिप चालक गोलञ्जोर गापा ६ का ३२ वर्षीय टीकाजंग राईको अवस्था गम्भीर रहेको छ । चालकसँगै गोलञ्जोर–६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरी निरीक्षक कटबालले जानकारी दिए ।
गोलञ्जोर– ६ कै १८ वर्षीया जिना श्रेष्ठ, पवन मर्स्याङ्गी, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ३७ वर्षीय हिमाल परियार, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई–५ कि ७८ वर्षीया डम्बर कुमारी कार्कीको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाए ।

error: Content is protected !!