देवाही गोनाही नपामा प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर तनावग्रस्त ः ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

रौतहट, ८ असोज । प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर तनावग्रस्त बनेका देवाही गोनाही नगर कार्यपालिकाको कार्यालय अहिले शान्त बनेको छ । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले आफ्ना मनोमानी ढंगले एक विद्यालयको प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाउदै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगे ।
जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेकोमा उक्त सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरुले मंगलवार गोनाही स्थित रहेको देवाही गोनाही नगर कार्यपालिकाको कार्यालयमा ताला लगाएर विभिन्न नाराहरु लगाउदै बिरोध प्रदर्शन गरिरहेका छन् ।
सानासाना स्कूले बालबालिकाहरुले प्रदर्शन गरिरहदा अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी अवस्थालाई साम्य बनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
प्रदर्शनको क्रममा ढुंगामुढाबाट एम्बुलेन्सको सिसा फुटेको छ । ढुंगा प्रहार गर्नेको पहिचान भईसकेको जानकारी दिदै डिएसपी गिरीले उग्र विद्यार्थीहरुलाई निकै सम्झाउदा पनि ढुंगा फाल्ने कार्य जारी रहदा तिन जना प्रहरी सामान्य रुपमा घाइते भएको बताए । अवस्था अहिले साम्य भईसकेको छ । कसको उसकाहटमा परेर विद्यार्थीहरु प्रदर्शनमा आएको सम्बन्धमा प्रहरीले आवश्यक छानविन सुरु गरेको समेत उनले स्पष्ट पारिन् ।

error: Content is protected !!