वीरगन्ज महानगरपालिका वाड नम्बर ३ स्थित प्रगतिनगरको एक किराना पसलबाट डेढ लाख भन्दा बढि क्याप्सुल लागूऔषध बरामद भएको छ ।
सशस्त्र प्रहरी बलले एक किराना पसलबाट डेढ लाख भन्दा बढि क्याप्सुल लागूऔषध बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले संचालन गरेको सृष्टी किराना जेनरल स्टोरमा विशेष सूचनाको आधारमा शनिवार राती खानतलासी गरेको थियो ।
सो क्रममा ५ वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको हो। स्टोर संचालक कोइरीलाई समेत वीरगंज भन्सार कार्यालय अगाडीबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।