अवकाशअघि डीआईजी आचार्य मधेसको कमाण्डमा, घुमुवा खटाएर असुली बढाएको आरोप

पुस ०७ गते । रौतहट ।
अवकाश प्राप्त गर्ने पूर्व संध्यामा मधेस प्रदेश प्रहरीको प्रमुख बनाएर पठाइएका नायब प्रहरी महानिरीक्षक लालमणि आचार्यले प्रदेशभरि घुमुवा खटाएर पैसा असुली गरेको आरोप लागेको छ ।
सप्तरीमा प्रहरी हवल्दार राजेश पटेल, सिरहामा असई सुनिल यादव, महोत्तरीमा प्रहरी हवल्दार राजेश यादव, सहायक हवल्दार धर्मेन्द्र यादवलाई खटाइएको छ । यिनीहरु जागिर खाएदेखि नै महोत्तरीमा अड्डा जमाएर बसेका छन् ।

वर्तमान आईजीपी बसन्तबहादुर कुँवर मधेस प्रदेशको प्रमुख हुँदा यिनीहरुलाई डाँडा कटाएको भएता पनि सिंगो संगठनको प्रमुख हुँदा यिनीहरु डीआईजी आचार्यको महोत्तरीमा बसेर सेवा गरिरहेका छन् ।

सर्लाहीमा प्रहरी जवान मुकेश गुप्तालाई प्रहरी चौकी मोहनपुरमा हाजिर गराई जिल्लाभर असुलीको लागि खटाइएको छ भने ईलाका प्रहरी कार्यालय बरहथवामा हाजिर गराई असई गगनदेव भगत मालीलाई रौतहट जिल्लाको जिम्मा लगाइएको छ ।

बारा जिल्लामा एक वरिष्ठ सईको कमाण्डमा प्रहरी जवानद्वय धिरज पटेल र विजय यादव ईलाका प्रहरी कार्यालय सिमरौनगढ़मा सहायक हवल्दार राजेश यादवलाई हाजिर गर्न लगाई वीरगञ्जमा तस्करहरुसँग महिनावारी असुल्न खटाइएको छ ।

पर्साको विभिन्न नाकाहरुबाट भारततर्फ लसुन, टायर लागुऔषध गाँजा गइरहेको प्रहरीकै स्रोत बताउँछ । उताबाट कपडा, खैनी, कुखुराको चल्ला,चिनी, काजु ,रजनीगन्धा,चौपाया पशु निर्वाध रुपले भित्रिइरहेको छ । यस कार्यमा हरदेव यादव, जितु, रञ्जित, पशुपति यादव, उत्तम तिवारी, सञ्जय चौरसिया, सन्दिप चौरसिया, तारकेश्वर र सुवास तिवारी लगायतको गिरोह सक्रिय रहेको छ ।

बारा जिल्लाको चल्तीका तीन वटै नाका मुशहरवा,छतवा र मटिअर्वा नाकाबाट निर्वाध रूपमा तस्करी भइरहेको छ । राजेश श्रीवास्तव, भोला यादव, खेना यादव, राजेश साह, दीपक यादव, भोला साह कानु, अरविन्द साह र मौला मियाँ भन्ने मास्टरले जोडतोडका साथ कारोबार गरिरहेका छन् ।

बाराको बलराम बस्ने सुरेन्द्र साह उर्फ मुकेश साहले मटिअर्वा नाकाबाट तस्करीको माध्यमले कमाएको रकमबाट वीरगञ्ज नगवामा हालै डेढ करोडमा जमिन खरीद गरेपछि उनको गिरोहमा खटपट बढेको छ।

रौतहट जिल्लाको गौर नाका,बंकुल नाका, लक्ष्मीपुर बेलविछवा नाका, रामपुर खाप, लतमरी, बन्जारहा र महादेवपट्टी नाका पनि तस्करहरुको लागि खोलिएको छ। रौतहट जिल्लाबाट सुनिल जायसवाल, भरत साह, कन्हाई साह, नन्हक साह, मनोज जायसवाल, कौशल साह,अमरजीत साह, ओमप्रकाश साह,रामचन्द्र कन्दोई र कान्छा भन्ने लम्बुले लाइन चलाई रहेका छन् । रौतहटबाट भारततर्फ रक्सी र चिनियाँ लसुन ब्यापक मात्रामा पठाइँदै छ भने उताबाट खैनी, लत्ता कपडा र मोटर पार्ट्स भित्रिदैछ ।

सर्लाही जिल्लाको विभिन्न नाकाबाट असन्तोष दास, संतोष भन्ने डिलर, उमेश साह, उमेश पटेल, नविन सिंह, उमेश ठाकुर, सरोज यादव, परमहंस साह, विजय यादव र हुसेनी लगायतलाई ओसारपसार गर्ने जिम्मा दिइएको स्रोत बताउँछ।

महोत्तरी नाकाबाट विभिषण महतो कालियालाई २५ वटा टेम्पोबाट सम्सी नाका भएर माल ओसार्न लाइन दिइएको छ । मनोज पटेल, डाला, संजीव र मोती अंसारी पनि महोत्तरी जिल्लाको विभिन्न नाका प्रयोग गरेर निर्वाध रूपमा तस्करी गरिरहेका छन् ।

धनुषा जिल्लाको जनकपुर मुल भन्सार नाका, जटही, जयनगर, फुलगावा, धनौली, खजुरी र इनर्वा नाकाबाट राजीव महासेठ र मोहन जालानको गिरोहमा संलग्न भई सानातिना १०० जना कैरियरहरु तस्करी धन्दामा सक्रिय छन् ।

सिराहा जिल्लाको जाझपट्टी, माडर, सखिपुर, चतरी, पेटरवा नाका कल्याणपुरबाट ब्यापक तस्करी चलिरहेको छ। सप्तरीको बनैनिया बीओपीको सहयोगमा पर्साको भिस्वा नाकाबाट तस्करी गर्ने मुन्ना जैसवाललाई निम्ता दिएर बोलाइएको छ। उनलाई भारततर्फ लसुन, स्याउ र कस्मेटिक सामान निकासीको लाइन दिइएको छ ।

सप्तरीको तिलाठी नाका, बोदे बर्साइन, बेल्ही नाकाबाट निर्वाध रूपमा तस्करी भइरहेको छ । वीरगञ्ज बजार छपकैयाका केही मुस्लिम समुदायका कारोबारीहरु सप्तरी नाकाबाट मालसामान भित्र्याइरहेको बुझिएको छ।

आउने चैत्र महिनामा अवकाश लिएर घर जाने बेलामा डीआईजी आचार्यले रकम असुली कार्यलाई प्राथमिकता दिएको कारणले गर्दा मधेस प्रदेशको शान्ति सुरक्षामा प्रतिकुल असर परेको गुनासो बढ्दो रहेको छ। सभार : हाम्रा कुरा

error: Content is protected !!