रौतहट प्रहरीद्वारा ६ महिनामा अढाई करोडको सामान बरामद, ६६ जना नियन्त्रणमा
रबिन्द्र प्रजापति, माघ ०૪ गते । रौतहट ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले ६ महिनामा झन्डै अढाई करोड रुपैयाँ बराबरको अवैध सामानसहित ६६ जना तस्करलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार सार्वजनिक गरेको ६ महिने प्रगति विवरणमा गत साउनदेखि पुस मसान्तसम्म भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको विभिन्न प्रकारको सामान बरामद गरी भन्सारमा बुझाइएको उल्लेख छ।
तस्करीमा प्रयोग गरिएको २ थान स्कार्पियो,२ थान पिकअप भ्यान,४ थान ई रिक्सा,१०८ थान मोटरसाइकल, १४ थान साइकल बरामद गर्नुका साथै तस्करीमा संलग्न ६६ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
हुण्डी कारोबार बाट १५ लाख रुपैयाँ सहित ३ जना मानिसलाई पक्राउ गरेको छ। प्रहरीले चोरीको २ थान स्कार्पियो, २१ वटा मोटरसाइकल र चोरीमा संलग्न २४ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
सोही अवधिमा कर्तव्य ज्यानको ९ वटा मुद्दा दर्ता भएको मध्ये ५ वटा फर्छ्यौट भएको छ । त्यस्तै जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छ्यौट भएको छ। गत आवको सोही अवधिमा २१ वटा मुद्दा दर्ता भएको र १६ वटा फर्छ्यौट भएको थियो ।
लागूऔषध तर्फ १५ मुद्दा दर्ता १४ फर्छ्यौट, गत आवको सोही अवधिमा ११ वटा मुद्दा दर्ता भएकोमा १० वटा फर्छ्यौट भएको थियो । त्यसैगरी हात हतियार खरखजाना सम्बन्धी ६ वटा मुद्दा दर्ता भएकोमा ५ वटा फर्छ्यौट भएको छ ।
चालू आवको ६ महिनामा चोरी सम्बन्धी ३८ मुद्दा दर्ता र सबै फर्छ्यौट गत आवको सोही अवधिमा ३५ वटा मुद्दा दर्ता तथा फर्छ्यौट भएको थियो ।
मुद्रा सम्बन्धी ४ वटा मुद्दा दर्ता र सबै फर्छ्यौट भएको छ । राष्ट्रिय तथा सामुदायिक वन बाट तस्करले अवैध रुपमा कटान गरी ल्याएको करीब ११८ क्यूफिट सालको गुलिया काठ, ३ ट्रली बालुवासँगै नदी जन्य पदार्थ ढुवानीमा प्रयोग गरिएको २३ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त कारबाही बाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको थियो।
रौतहट स्थित ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियम विपरीत चलेका सवारी साधन लाई गरेको कारबाही बाट ६८ लाख २४ हजार ५ सय राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख रहेको छ। साभार: रातोपाटी