सरस्वती पूजा नजिकिएसँगै रौतहटमा मूर्ति बनाउने कालीगढहरूलाई भ्याइनभ्याई

रबिन्द्र प्रजापति, माघ ०૪ गते । रौतहट ।

सरस्वती पूजा नजिकिएसँगै रौतहटमा मूर्ति बनाउने कालीगढहरूलाई भ्याइनभ्याई भएको छ। जिल्लाका विभिन्न स्थानमा यति वेला सरस्वतीको मूर्ति बनाउने कालीगढहरू मूर्ति बनाउन व्यस्त छन्।

माटोका मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका रौतहटका पण्डित जातिहरू यति वेला सरस्वतीको मूर्ति बनाउनमा व्यस्त  छन्। माटोको विभिन्न मूर्ति बनाउने कुम्हालेलाई तराई मधेशमा पण्डित पनि भनिन्छ।

माटोको कलात्मक सरस्वतीको प्रतीक राखेर निजी तथा सामुदायिक शैक्षिक संस्था तथा स्थानीयले पूजाअर्चना गर्ने भएपछि मूर्तिको माग बढेको हो।

रौतहटका मूर्तिकारहरू यति वेला विभिन्न साइजका सरस्वतीका मूर्तिहरू बनाउनमा व्यस्त छन्। कतिपयले विद्यालयहरूले दिएको अर्डरअनुसार मूर्ति बनाइरहेका छन् भने कतिपयले आफैँले बनाएर किन्न आउनेलाई मूर्ति बेच्ने गरेका छन्।