नक्कली पेस्तोल देखाई ठगी गर्ने मानिस रौतहटबाट पक्राउ
रौतहट, ०९ गते माघ
रौतहटमा नक्कली पेस्तोल देखाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक जिल्ला मोतिहारी ग्राम पञ्चायत खरोही वडा नम्बर ४ मा बस्ने मो. जाविर आलमको छोरा अन्दाजी बर्ष २०को अब्दुल कलाम रहेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सुचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोले दिएको जानकारी अनुसार जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मठिया स्थित सिमावर्ती ईलाकामा नक्कली चाईनिज पेस्तोल (खेलौना) देखाईसिमा क्षेत्रमा हिलडुल गर्ने व्यक्तिहरुलाई डर त्रास देखाई पैसा मांगदै थियो ।
२०८१ माघ ०७ गते अन्दाजी ७ बजेर ३० मिनटको समयमा नक्कली पेस्तोल देखाई ठगी गरिरेहको सुचना प्राप्त भएपछि प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटिएको प्रहरी टोलीले अब्दुल कलाम भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेर कार्यालयमा ल्याई म्याद थपगरी अनुसन्धान कार्य भईरहेको निमित्त सुचना अधिकारी तथा प्रहरी निरिक्षक राम कुमार महतोले जनाएको छ । अहिले चोरी तथा ठगी गर्ने व्यक्तिको सक्रियता बढेकोले सर्वसाधारनलाई आफु सचेत भई बस्नको लागी यस समाचारबाट अनुरोध गरिएको छ ।