रौतहट ट्राफिक प्रहरी प्रमुखको सक्रियता ,१ महिनामै १३ लाख भन्दा बढी राजश्व संकलन

फाल्गुन ०८, रौतहट
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले हालसालै आफ्नो सक्रियता बढाउँदै सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कडाइका साथ कारबाही गरिरहेको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीको नेतृत्वमा गरिएको चेकजाँच अभियानका कारण एक महिनामै १३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । माघ १ गतेदेखि माघ मसान्तसम्म गरिएको कारबाही अन्तर्गत १३५५ जना सवारी चालकलाई विभिन्न ट्राफिक नियम उल्लंघन गरेको आधारमा कारबाही गरिएको छ ।

यस अवधिमा जम्मा १३ लाख ०३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर अधिकारीले जानकारी दिनुभयो ।

इन्स्पेक्टर अधिकारीका अनुसार सवारी जाँचका क्रममा मदिरा सेवन (मा.प.से) गरी गाडी चलाउने, ओभर लोड गर्ने, सिट बेल्ट वा हेल्मेट नलगाउने, सवारीका कागजपत्र साथमा नहुने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको, रुट परिमिट नलिएको, बत्ति बिग्रिएको लगायतका कारणले गर्दा सवारी साधनहरूलाई कारबाही गरिएको हो ।

यस कारबाहीमा बस, ट्रक, कार, जीप, भ्यान, मोटरसाइकल लगायतका विभिन्न प्रकारका सवारी साधनहरू परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान पनि सञ्चालन गरिरहेको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्दै यात्रु तथा चालकहरूलाई सुरक्षित यात्राका लागि प्रेरित गरिरहेको छ । दुर्घटना न्यूनीकरणका लागि विभिन्न विद्यालय, संघसंस्था तथा चालकहरूलाई लक्षित गरी सचेतनामूलक तालिम तथा गोष्ठीहरू पनि आयोजना गरिरहेको छ ।

रौतहट ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार, “सडक सुरक्षाका लागि ट्राफिक नियम पालना गर्नु अनिवार्य छ ।

हामीले जनचेतना अभिवृद्धि गर्ने काम गरिरहेका छौं, साथै टूाफिक नियम उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही पनि गरिरहेका छौं । हाम्रो उद्देश्य दुर्घटना न्यूनीकरण गर्नुका साथै ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउनु हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीको निर्देशनमा सदरमुकाम गौर, गरुडा , चन्द्रपुर, बागमती, कटहरियासँगै ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरेपछि सवारी दुर्घटनामा कमी आउनुका साथै नियम विपरीत चल्ने सवारी धनीलाई कारबाहीको दायरामा ल्याइएको छ ।

यस चेकजाँच अभियानसँगै सवारी साधन धनी तथा चालकहरूलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिएको छ । साथै, ट्राफिक नियम उल्लंघन नगरी सुरक्षित यात्रामा ध्यान दिन जिल्ला टूाफिक प्रहरीले सबै यात्री तथा चालकहरूलाई अनुरोध गरेको छ ।