
रौतहट प्रहरीद्वारा चिरानको काठ सहित दुई जना पक्राउ
रबिन्द्र प्रजापति, फागुन ११ गते । रौतहट ।
रौतहट प्रहरीले चिरानको काठ सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट घटिएको प्रहरी गस्तीले दुई जनालाई पक्राउ गरेको डिएसपी राजकुमार राईले जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरुमा स्थानिय ३२ वर्षीय जयकिशोर कुमार र ४० वर्षीय सनिचर धामी रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बाट दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडयादहबाट चन्द्रनिगाहपुर तर्फ लैजादैँ गरेको अवस्थामा करिव २१ क्युफिट सालको १३ थान चिरान काठ बरामद गरी कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपि दीपक कुमार रायले जानकारी दिए ।
पछिल्लो समय रौतहटको वनमा काठ तस्करी बढ्दै गएको छ । वन कर्मचारीले गस्ती कम गर्न थालेपछि तस्कर समूहले अबैध रुपमा काठ कटानी तथा ढुवानी तिब्र पारिएको स्थानीयको भनाई छ ।