
रौतहटसहित तराई मधेशमा आज होली मनाइँदै
रबिन्द्र प्रजापति, चैत १ गते । रौतहट ।
फागु अर्थात होली पर्व आज रौतहट सहित तराई मधेशका जिल्लाहरुमा हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ। बिहीबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो भने रौतहट सहित तराई मधेशमा आज मनाईँदै छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । तराई मधेशका क्षेत्रमा मनाइने होली देशको अन्यत्र भाग भन्दा फरक हुन्छ।
पूर्णिमाको राति होलीका गीतहरू (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ। फागुका दिन रंग अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ ।
तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रंग चढाएर र आफ्ना परिवारका सदस्यसँग रंग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ।