अत्यधिक गर्मीका कारण रौतहटको जनजीवन प्रभावित

रबिन्द्र प्रजापति, जेठ ०१ गते । रौतहट ।
अत्यधिक गर्मीका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । विगत तिन चार दिनदेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो ।

वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण कर्मचारी र मजदूरसमेत प्रभावित भएका छन् ।

गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

जिल्लाको कटहरिया, गौर, गरुडा, चनद्रनिगाहपुर, मौलापुर, लगाएतका स्थानका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् ।

बैशाखको अन्तिम सातादेखि बढेको प्रचण्ड गर्मीका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाले जनाएको छ ।