मलंगवामा कारको ठक्करबाट ७० बर्षीया महिलाको मृत्यु

सर्लाही, ८ जेठ । सर्लाहीको मलंगवा नगरपालिकामा रहेका कुशुम पार्टी प्यालेस अगाडी भारतीय नम्वरको कारले पैदल यात्रीलाई ठक्कर दिदा ७० बर्षीया महिलाको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका वडा नम्वर ८ कुशुम पार्टी प्यालेस अगाडी भित्री सडक खण्डमा गोरखकालीबाट मलंगवा बजार तर्फ आउदै गरेका बीआर ०६ एई ९६६८ नम्वरको भारतीय कारले ७० बर्षीया महिला पैदल यात्रीलाई विहिवार दिउसो ३ बजेको समयमा ठक्कर गम्भीर घाइते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार मलंगवा नपा ३ का महमद मुसाफिरको ७० बर्षीया श्रीमती हसिना खातुन ठक्करबाट दाहिने कुममा चोट लागेर गम्भीर घाइते अवस्थामा प्रादेशि अस्पताल मलंगवामा उपचारको क्रममा ४ बजेको समयमा चिकित्सकले मृत घोषित गरे ।

महिलालाई ठक्कर दिने कार र मलंगवा नपा ८ का ३० बर्षीय कार चालक अमित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । मृतक महिलाको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको समेत उनले भने ।