पर्सा प्रहरीको ठूलो सफलता, ३ सय १९ केजी चरेससहित ट्रक र चालक पक्राउ

असार १२ गते । वीरगञ्ज ।  
पर्साको वीरगञ्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले ३ सय १९ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका – १२ घर भएका ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले वजानकारी दिए ।

पर्सा जिल्लामा सम्भवतः एक पटकमा यति धेरै परिमाणमा चरेस बरामद गरिएको पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चरेसहित पक्राउ परेका स्याङ्तानको साथबाट १ लाख ९२ हजार रुपैयाँ रकम पनि प्रहरीले बरामद गरेको छ ।

बुधवार बेलुकी बाराको परवानीपुरबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई प्रहरीले परवानीपुर चोकमा रोकेर चेकजाँच गरेको थियो ।

त्यस क्रममा उक्त ट्रकको सामान लोड गर्ने भागमा प्लास्टिकको बोराभित्र पोका बनाएर राखिएको अवस्थामा ३ सय १९ केजी चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए ।

ट्रकबाट चरेस बरामद भएपछि त्यसका चालक स्याङ्तानलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । खानतलासीका क्रममा चालक स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ रकम पनि बरामद गरिएको एसपी मिश्रले बताए । बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको उनले बताए ।

पक्राउ परेका ट्रक चालकले उक्त चरेस आफूले धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगञ्जको ड्राइपोर्ट नाका हुँदै भारतमा पु¥याउने योजनामा रहेको प्रहरीलाई बयान दिएको मिश्रले जानकारी दिए ।

चरेससहित पक्राउ परेका स्याङे्तानलाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मिश्रले चरेसको तस्करीमा संलग्न अन्य व्याक्तिहरूको बारेमापनि प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको बताए ।

चरेस,गाँजा,अफिम लगायतका लागू औषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरी अहिले लागिरहेको र त्यसैको नतिजा स्वरूप यति धेरै मात्रामा चरेस बरामद गर्न सफल भएको प्रहरी उपरीक्षक मिश्रले बताए ।

उनले भने,‘ लागू औषध तस्करीको चेन ब्रेक गर्ने गरी पर्सा प्रहरी लागि रहेको छ । त्यसका कारण अहिले बरामद चरेसको तस्करीको नेक्सेस् बारे पनि हामीले अनुसन्धान गरिरहेका छौँ ।