एसपीलाई धम्की दिने नेता यादवलाई पक्राउ गर्न जाँदा डिएसपीको गाडीमा तोडफोड

असार २० गते । सर्लाही ।  

सर्लाहीमा नेपाल प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले धम्की दिएपछि यादवलाई पक्राउ गर्न गएको गाडी तोडफोड गरिएको छ।

 

पूर्वाधार कार्यालय मलंगवामा राति साढे आठ बजेतिर प्रहरीको निगरानीमा भुक्तानीको लागि चेक काटेको विषयमा विवाद चर्किएको थियो। दुवै जनाले एकअर्कालाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। सो पश्चात् यादवलाई नियन्त्रणमा लिन खोजेपछि डिएसपीको गाडी तोडफोड गरिएको हो।

 

एसपी खड्कासँग गालीगलौज भएपछि प्रहरीको टोली नेता यादवको गाउँ पुगेर पक्राउ गर्न खोजेको थियो। प्रहरीको टोलीले नेता यादवको घरमा छापा मारेर पक्राउ गर्न खोजेपछि स्थानीय व्यक्तिलाई प्रयोग गरी प्रहरीमाथि ढुंगामुढा प्रहार गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले स्थानीयको ढुंगामुढामा जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पुगेको बताएका छन्। प्रहरीले यादवको खोजी गरिरहेको जनाएको छ।

 

पूर्व प्रदेश सांसदसमेत रहेका जसपा प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई कमीसन खान आएको आरोप लगाएपछि विवाद चर्किएको अडियो नै सार्वजनिक भएको छ। राति प्रहरी पठाएर कमीसन लिने गरेको आरोप एसपी खड्कामाथि नेता यादवले लगाएपछि चर्किएको विवादले उग्र रूप लिएको थियो। एसपी खड्काले त्यहाँबाट फोन आएपछि प्रहरी पठाइएको बताइरहँदा पनि नेता यादवले एसपी खड्कामाथि मधेशमा लुट्न आएको र कमीसन लिन आएको आरोप लगाइरहेको अडियोमा सुन्न सकिन्छ।

सर्लाहीका एसपीलाई जसपाका अध्यक्ष यादवको धम्की

पूर्वाधार कार्यालय मलंगवाका प्रमुख विजय यादव चन्द्रपुरमा डेरा लिएर बस्ने गरेको तथा दिउँसो कार्यालय नआउने र राति आएर कमीसन दिनका लागि चेक काट्ने र अन्यलाई खाता खोल्नमै समस्या बनाउने गरेको आरोप जसपा नेता अशोक यादवको रहेको छ।

 

बाहिर प्रहरी राखेर कार्यालयको ढोका भित्रबाट बन्द गरी राति मात्र चेक काट्ने गरेको आरोप पूर्वाधार कार्यालयमाथि छ। पूर्वाधार कार्यालय मलंगवाका प्रमुख विजय यादवले असार मसान्त आउन लागेकाले दिनभर र रातभर काम गरेर भए पनि फाइल हेरेर काम गर्नु परिरहेको बताएका छन्। दिउँसो कार्यालयमा नआउने र राति प्रहरीको निगरानीमा सर्वसाधारणको पहुँच नहुने अवस्था निर्माण गरेर चेक काट्ने काम गरिरहेको आरोपकै विषयमा विवाद भएको हो।

 

मधेश प्रदेश सरकारले महेन्द्र नारायण निधि आवासको कार्यक्रम अगर्वा र सलेमपुर गाउँमा निर्माण गरिएको र भइरहेको घरको भुक्तानीको विषयमा विवाद चर्किएको हो। कार्यक्रममा निकै भ्रष्टाचार भइरहेको आरोप नेता यादवको रहेको छ।