
छिनछिनमै बिजुली झ्यापझ्याप आउने जाने समस्याले सेवाग्राही हैरान
रबिन्द्र प्रजापति, असार २३ गते । रौतहट ।
विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रबाट प्रसारण भएको विद्युत छिनछिनमा झ्यापझ्याप आउने जाने समस्याले आजित भएपछि कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर बौधिमाई नगरक्षेत्रका उपभोक्ताहरु आजित भएका छन् ।
विजुली बत्ती सयौं पटक भन्दा बढी जाने र आउने समस्याले यहाँका उद्योगी, व्यवसायी मात्र हैन आम सर्वसाधारणसमेत आजित बनेका हुन् । प्रचण्ड गर्मीमा विजुली बात्ती झ्यापझ्याप आउने जाने समस्याले सेवाग्राहीहरु सास्ती खेपी रहेका छन ।
कटहरिया नगरक्षेत्र तथा आसपासका क्षेत्रका स्थानीयहरु केही समयदेखि छिनछिनमा झयाप्पझयाप्प बत्ति जाने समस्याले आजित मात्रै भएका छैनन अनियमित विद्युतका कारण स्थानीयका विद्युतीय सामग्रीहरु बिग्रिएर हैरान हुन थालेका छन् ।
छिनछिनमा लाईन आउने र जाने समस्याले गर्दा घरमा जडान गरिएको टेलिभिजन, फ्रिज, पंखा, लगायतका विधुतीय सामग्रीमा समेत क्षति पुग्ने गरेको र विधुत अवरोधका कारण किसानलाई धानबालीमा सिँचाई गर्न समस्या परेको कटहरिया नगरपालिका वडा नम्बर ५ का स्थानीय दिनानाथ साह कलवारको भनाई छ ।
विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश प्रसाद यादवले पत्रकार रबिन्द्र प्रजापतिलाई दिएको जानकारी अनुसार ओभर लोड भएको कारणले यो झ्यापझ्यापको समस्या आएको बताउनु भयो। उनका अनुसार पहिला अढाई सयको हाराहारीमा लोड थियो र अहिले ६ सय लोड भएकोले समस्या आएको बताउनु भयो ।
पर्याप्त पानी नपर्दा सिँचाई बढी भएकोले ओभर लोड हुन थालेको छ । असारको तेस्रो हप्ता सुरु भएसंगै किसानहरुलाई धान रोपन चटारो छ । पानी नपर्दा किसानहरुले सिँचाई गरेर धान रोपन थालेका हुन । सिँचाई बढी भएकोले ओभर लोड भएकोले छिनछिनमा विजुली बत्ती आउने जाने समस्या रहेको विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ ।