
महालेखा परीक्षकको टोलीद्वारा रौतहटमा सरकारी कार्यालयहरूको लेखापरीक्षण सुरु
रौतहट, २८ साउन । रौतहट जिल्लाका सरकारी कार्यालयहरूको लेखापरीक्षण कार्य महालेखा परीक्षकको कार्यालयले औपचारिक रूपमा सुरु गरेको छ ।
हिजो मंगलबार जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित कार्यक्रममार्फत लेखापरीक्षण कार्यको थालनी गरिएको हो ।
महालेखा परीक्षक कार्यालयका निर्देशक सुनिलराज खनालले जिल्लाका १८ स्थानीय तह सहित सबै प्रादेशिक र संघीय कार्यालयहरूको लेखापरीक्षण गरिने बताए ।
असोज ५ गतेभित्र कार्य सम्पन्न गर्ने लक्ष्यसहित तीनवटा टोलीले काम सुरु गरिसकेको र चाँडै चौथो टोली पनि रौतहट पुग्ने उनले जानकारी दिए । लेखापरीक्षण सुरु गर्नुअघि जिल्लाका सरकारी कार्यालयका प्रमुख र लेखा प्रमुखहरूको संयुक्त बैठक हिजो सम्पन्न भएको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले लेखापरीक्षणमा पूर्ण सहयोग गर्न निर्देशन दिए । उनले लेखापालको अभावले एकै व्यक्तिले पाँचवटा कार्यालयको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता रहेको र यसले सुशासनमा चुनौती थपिएको बताए । उनले थपे, “लेखापालहरू कार्यालयमा नियमित नबस्ने र बाहिरै बसेर काम गर्ने गुनासो गम्भीर छ ।”
कार्यक्रममा स्थानीय तहका प्रमुख, लेखा कर्मचारी, महालेखा परीक्षकको टोली र सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो