
पत्रकार कृष्ण तिवारी माथि दुव्र्यवहार गर्ने कार्यवाहक मेयरका छोरा सनाउल्लाह विरुद्ध पक्राउ पुजी जारी
रौतहट, ३ भदौं । फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा आर्थिक अनियमितता गरेर नगरपालिकामा आर्थिक भार थुपारिएको समाचार लेख्ने पत्रकारलाई दुव्र्यवहार गरेर धम्की दिने विरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका छन् ।
नगरपालिकामा भईरहेको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने मध्ये पत्रकार कृष्ण तिवारीलाई कार्यवाहक मेयर अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहले दुव्र्यवहार एवं धम्की दिएका विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएका हुन् ।
ईलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा अदालतले हिजो सोमवार आदेश दिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए । पत्रकार तिवारीमाथि गएको साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चौक नजिकै रोकेर कार्यवाहक मेयरको छोरा सनाउल्लाहले दुव्र्यवहार गरेका थिए ।
दुव्र्यवहारबाट पीडित बनेका पत्रकार तिवारीले इप्रका विजयपुरमा दिएको जाहेरीपछि रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले अनुसन्धान गरी आईतवार सनाउल्लाह माथि अभद्र मुद्दा दर्ता गरेका थिए ।
दुव्र्यवहार गर्ने कावा मेयरको छोरा सनाउल्लाहलाई खोजतलास गरी पक्राउ गर्न छुट्टै टोली परिचालन गरिएको प्रहरी श्रोतबाट बुझिएको छ ।प्रेस चौतारी नेपाल, रौतहटले घटनाप्रति घोर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो । सचिव मुकेश कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– “पत्रकारलाई धम्की र आक्रमण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही नगर्ने हो भने यस्ता घटना दोहोरिन सक्छन् ।”
चौतारीले समाचार मार्फत भ्रष्टाचार उजागर गर्ने पत्रकारमाथि आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको टिप्पणी गरेको छ ।
भ्रष्टाचार भएको महालेखाको ठहर गर्दैै असुल उपर गर्न ध्यानाकर्षण
महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको देखाएको थियो । सो प्रतिवेदनकै आधारमा पत्रकार तिवारीले समाचार लेखेपछि कावा मेयर खातुनका छोराले दुव्र्यवहार गरेको चौतारीको आरोप छ । स्थानीय तहमा भईरहेका बेथिती, भ्रष्टाचार र अनियमितता उजागर गर्ने पत्रकारलाई धम्की दिने र आक्रमण गर्ने चलन सामान्य बन्दै गएको भन्दै चौतारीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका गोपाल प्रसाद यादव मेयर निर्वाचित भए पनि पहिलो कार्यकालमा गरेको गलत निर्णयको कारण विशेष अदालतले दोषी ठहर गरेपछि उपमेयर खातुन कार्यवाहक बनेकी थिइन् ।
कार्यवाहक मेयर बनेपछि उनका श्रीमान् मोहम्मद सेराज सहितका घरपरिवारका सदस्यहरु ‘कमिसन मोह’ ले नगरको कामकाज अस्तव्यस्त बनाएको कतिपय निर्वाचित जनप्रतिनिधिहरु बताउँछन् ।
गत आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीन विद्यालय भवन निर्माणका लागि आएको १ करोड ६५ लाख रुपैयाँ समेत सेराजकै हस्तक्षेपका कारण फ्रिज भएको स्थानीयको आरोप छ ।
कार्यवाहक मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत भरत यादवले चलनचल्ति भन्दा फरक विल पेश गरेर इन्धनको भुक्तनी दिएको । सवारी साधनमा नै त्यसरी अनियमितता गरेको हुँदा महालेखा परिक्षकले उक्त रकम फिर्ता गर्न नगरपालिकालाई ध्यानाकर्षण गराएबाट कार्यवाहक मेयर खातुन र हाकिम यादव अनियमितता गरेको पुष्टि भईसकेको छ ।