
ओम प्रकाश यादव
रौतहट, ३ भदौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले गौर हत्याकाण्ड ब्यूताएर सरकारले मधेशीलाई थर्काउन खोजेको बताए का छन् ।
साढे १८ बर्ष अघि भएको घटनालाई राजनीतिक प्रतिशोध साध्ने नियतले अहिले ब्यूताएर सरकारले मधेशीलाई थर्काउन र डराउन खोजें मधेशमा पुनः आगो बाल्ने केन्दीय सदस्य यादवले चेतावनी दिएका हुन् ।
मधेश बिरोधी भूमि सम्बन्धी अध्यादेश पास गराउन पार्टी अध्यक्ष उपेन्द्र यादव हस्ताक्षर गर्न नमान्दा त्यसैको बद्ला स्वरुप ओली सरकारले अहिले गौर काण्ड उचालेको नेता यादवले गम्भीर आरोप लगाए । भूमि सम्बन्धी अध्यादेश मधेश विरोधी रहेकोमा उपेन्द्र यादव उक्त अध्यादेश पास गर्न तयार नभएपछि साढे १८ वर्ष अघि घटेको घटनालाई सरकारले अहिले उचालेर मधेशीलाई पुनः विद्रोहमा उतार्न बाध्य बनाइरहेको बताए ।
सर्वोच्च अदालतले हिजो मात्र गौर घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेका थिए । घटनाका दिन घटनास्थलमा हुँदै नभएका आफ्ना अध्यक्षलाई फसाउने षड्यन्त्रका साथ सरकारले अदालतको प्रयोग गरेर परमादेश जारी गराएको जसपा नेपालका नेता यादवको ठम्याई रहेको छ ।
मधेश प्रदेशका पूर्व राज्य मन्त्री समेत रहेका नेता यादवले सरकार निर्दोष व्यक्तिलाई फसाउन खोजिरहेको हुँदा आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए । सरकारले राजनीतिक प्रतिशोध साध्ने नियतले मधेशी नेताहरुलाई फसाउन खोजे मधेशी जनता पुनः निर्णायक आन्दोलनमा उत्रने नेता यादवले चेतावनी दिए ।
सरकारको सो गलत कदम विरुद्ध आजदेखि आफूहरु रौतहटको गौरबाट विद्रोहको सुरूवात गर्न लागेको समेत उनले बताए । २०६३ साल चैत्र ७ गते गौरको राइस मिलमा तत्कालीन मधेशी जन अधिकार फोरमले आयोजना गरेको मञ्चको छेउमा माओवादीले समेत मञ्च बनाई कार्यक्रम गर्न खोज्दा दुवै पार्टीका कार्यकर्ताबीच मुठभेड भई दुर्भाग्यवश २७ जनाको ज्यान गएको थियो ।
माओवादीका तत्कालीन नेता प्रभु साहको इशारामा उक्त घटना भएकोमा साहलाई कारवाही हुनुपर्ने जसपा केन्द्रीय सदस्य यादवले भने । फोरमको पूर्व निर्धारित कार्यक्रम रहेको थाहा हुँदा हुँदै बलजबर्जस्ती प्रभु साहले सोही ठाउँमा कार्यक्रम गर्न माओवादी कार्यकर्तालाई निर्देशन दिएकोमा सो घटना भएको जसपा नेपालका नेताहरु बताउँछन् ।
घटनाका मुख्य योजनाकार प्रभु साह नै रहेकोले उनीमाथि अनुसन्धान गरी कारवाही गर्नुको सट्टा सरकारले न्यायलयलाई समेत प्रभावमा पारेर उपेन्द्र यादव माथि अनुसन्धान अगाडि बढाउन परमादेश जारी गराएकोमा गम्भीर आपत्ती जनाए ।
सरकारले आफ्ना रवैया सुधार नगरे मधेशमा पुनः विद्रोह हुने र त्यसको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने जसपा नेता यादवले स्पष्ट शब्दमा चेतावनी दिए