वाराको सिमरामा भएको झडप प्रकरणमा तेस्रो व्यक्ति पक्राउ, एमालेका दुई वडाध्यक्षसहित ३ जना नियन्त्रणमा

बारा, ५ मंसिर । नेकपा (एमाले) को राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा उत्रिएका ‘जेन–जी’ पुस्ताका युवकहरु संग एमाले कार्यकर्ताबीच बुधबार सिमरा चोकमा भएको झडपको घटनामा बारा प्रहरीले थप एक जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अरविन्द साह रहेका छन् । उनी एमाले निकटका युवा रहेको बुझिएको छ ।
यसअघि बिहीबार नै जितपुरसिमरा उपमहानगरपलिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष कैमद्विन अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो । दुवैजना एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरूलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।
घटनाको जाहेरी जेन–जी नेता सम्राट् उपाध्याय (साइकुस उपाध्याय) ले इलाका प्रहरी कार्यालय सिमरामा दर्ता गराएका थिए । जाहेरीमा आफूमाथि नियोजित आक्रमण र कुटपिट भएको उल्लेख छ । प्रहरीले अन्य केही व्यक्तिको पनि संलग्नता रहेको आशङ्का गरेको छ ।
बुधबार एमाले महासचिव शङ्कर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत लगायतका नेता सहभागी हुने कार्यक्रमको विरोधमा सिमरा विमानस्थल अगाडि जेन–जीले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । प्रदर्शनकारीमाथि एमाले कार्यकर्ताले अचानक आक्रमण गरेको आरोप लागेको छ । त्यसपछि आक्रोशित प्रदर्शनकारीले विमानस्थल गेट तोडफोड र ढुङ्गामुढा गरेका थिए । स्थिति बिग्रिएपछि प्रशासनले सम्पूर्ण उडान रद्द गर्दै सिमरा क्षेत्रमा राति ८ बजेसम्म कफ्र्यु लगाएको थियो ।
बिहीबार बिहानदेखि जेन–जीले पथलैया–वीरगञ्ज राजमार्ग अवरुद्ध पारेका थिए । सडक खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि फेरि कफ्र्यु आदेश जारी गरियो । अझै पनि सिमरा क्षेत्रमा तनाव कायम छ ।
अरविन्द साह पक्राउ परेपछि जेन–जी वार्ताका लागि लचक भएको सङ्केत देखिएको छ । बिहीबार जिल्ला प्रशासनले कलैयामा वार्ता आह्वान गरे पनि जेन–जीले ‘जितपुरसिमरामै वार्ता हुनुपर्ने’ अडान लिएपछि वार्ता आज शुक्रबारका लागि सारिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबीच सहजीकरण गरिरहेको बताइएको छ । तर लगातार दुई दिनदेखि कफ्र्यु र सडक अवरोधका कारण सर्वसाधारणले सास्ती भोगिरहेका छन् । यातायात पूर्ण रूपमा ठप्प छ ।
प्रशासनले स्थिति नियन्त्रणमा आएको दाबी गरे पनि सडकमा प्रदर्शन र तनाव कायमै रहेको स्थानीयले बताएका छन् । जेन–जीले कुटपिटमा संलग्न सबैलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् ।
घटना झन् जटिल बन्दै गएको र शान्ति स्थापना गर्न वार्ता सफल हुनुपर्नेमा सबैको चासो छ ।