विवाहित महिला भगाउने कटहरियाका वडा सदस्य पक्रा

रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सतलाल दास पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार अपरान्ह ४स्३० बजे गौरस्थित एक स्थानबाट दासलाई पक्राउ गरेको एसपी रबिन कार्कीले पुष्टि गरेका छन्।
उपभोक्ता समितिको सचिव बनाइ आफ्नै वडाकी विवाहित दलित महिलालाई ललाइ–फकाइ प्रेम जालमा पारेर भगाएको आरोप दासमाथि लागेको छ। चार छोराछोरीका पिता दासले तीन सन्तानकी आमासँग ‘सम्बन्ध’ बढाउँदै घरदेखि पैसा, सुनचाँदी र जग्गा सम्म हिनामिने गरेको पीडित परिवारको आरोप छ।
घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म तातेको माहोललाई लिएर जातीय संगठन ‘राष्ट्रिय तत्मा समाज’ समेत सक्रिय बनेको छ। समाजका पूर्व अध्यक्ष राजकुमार दास, महासचिव शंकर दास तत्मा, सल्लाहकार मदन दासलगायतको टोली बिहीबार पीडित परिवार, स्थानीय अगुवासँग निरन्तर छलफलमा जुटेको थियो।
पीडित महिलाका बुबाका अनुसार, २०७२ सालमा विवाह भएकी छोरीलाई वडा सदस्य दासले उपभोक्ता समितिको सचिव बनाएपछि दुवैबीच ‘आवतजावत’ बढ्दै गएको थियो। विदेशमा रहेका छोरीका श्रीमान कृष्णनन्दनद्वासले पठाइएका करिब १२ लाख रुपैयाँ, करिब ३ लाख बराबरका सुनचाँदीको गहना समेत वडा सदस्यले लिएका छन्।
छोरीको नाउँमा रहेको पाँच कठ्ठा जग्गा समेत दासले धरौटी राखेर पैसा निकालेको महिलाको बुबाले खुलासा गरेका छन्।
परिवारका अनुसार महिलाले पछिल्ला महिनामा तीन साना छोरालाई घरमै छोडेर बाराको निजगढमा दाससँगै भाडाको कोठामा बस्दै आएकी थिइन्। समुदायको खोजबिनपछि दुवै एकै कोठाबाट भेटिए पछि बारा प्रहरीले ईलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो।
सोहिदिन कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा दुवैजना लाई जिम्मा जमानीमा छोडिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी विष्णु प्रदीप बस्यालले विदेशबाट पठाएको रकम, गहना र जग्गासम्बन्धी प्रमाण पेश भएमा दासविरुद्ध कानुनी कारबाही र क्षतिपूर्ति अनिवार्य हुने चेतावनी दिएका छन्।
उता महिलाले आफू घरमा शारीरिक–मानसिक हिंसा सहन बाध्य भएकाले ‘सुरक्षाका कारण’ घर छाडेको बताइरहेकी छन्। मेयर अजय प्रकाश जैसवालले सबै आरोप अस्वीकार गरेका छन्।
यस घटनाले एकैपटक सात बालबालिकाको भविष्य अनिश्चित बनाएको मात्र होइन, विदेश रोजगारीमा रहेका युवाहरूले कसको खातामा पैसा पठाउने भन्ने विषयमा पुनः गम्भीर बहस उठाइदिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ परेका वडा सदस्य दासलाई नियन्त्रणमा लिएर घटना बारे आवशयक अनुसन्धान भईरहेको जनाएको छ।
दास पक्राउ पर्नु अघि राष्ट्रिय ततमा समाजका अध्यक्ष रामबाबु दासको नेतृत्वमा शुक्रवार जिल्ला प्रशासन कार्यालय गौर अगाडी दोषीमाथि कारबाहीको माग गर्दै केही बेर प्रदर्शन गरेका थिए।
समाजका अध्यक्ष रामबाबु दासले पीडित परिवारले न्याय र दोषीमाथि कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।