रौतहट चन्द्रपुरमा स्वचालित पेस्तोल, सहित हेटौडाका २२ बर्षीय युवकलाई सशस्त्र प्रहरीद्वारा पक्राउ

रौतहट, ६ मंसिर । सशस्त्र प्रहरीले रौतहटको गौर चन्द्रपुर सडक खण्डको देउराली चोकबाट अत्याधुनिक अबैध पेस्तोल, म्याग्जीन, गोली तथा विभिन्न कागजात सहित मकवानपुरको युवकलाई नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी बल नम्वर ११ गण रौतहटले उपलब्ध गराएका जानकारी अनुसार शनिवार दिउसो ३.३० बजेको समयमा चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर गौर सडकखण्डको देउराली चोकमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी घर भएका गुणबहादुर आचार्यको २२ बर्षीय छोरा सुमन आचार्यलाई मेड इन इटाली लेखिएको ब्रेरेटा पेस्तोल १ थान, सोमा लाग्ने म्याग्जिन १ थान, ब्राउनिंग पेस्तोल १ थान, म्याग्जिन एक थान, १३ राउण्ड गोली, खुकुरी १ थान, मोवाइल, एटिएम कार्ड  सहित विभिन्न कागजात सहित नियन्त्रणमा लिन सफल भएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल इन्टलिजेन्स व्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट डिएसपी राजेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएका सशस्त्र प्रहरीले देउराली चोकमा पैदल हिडिरहेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्दा उक्त सफलता प्राप्त भएको सशस्त्र प्रहरी बल नम्वर ११ गण रौतहटका एसपी रामहरी अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार युवक आचार्यले बोकेको रातो रंगको झोला खोलेर हेर्दा झोला भित्र अत्याधुनिक हतियार, गोली गट्ठा, खुकुरी सहित फेला परेपछि निजलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक आचार्यलाई आवश्यक अनुसन्धान गर्नका लागि नेपाल प्रहरीलाई बुझाउने प्रकियामा जारी रहेको उनले बताए ।
अबैध रुपमा लिएर हिडिरहेका स्वचालित हतियार कुन प्रयोजन एवं कसका लागि लिएर आएको हो भने अनुसन्धान पश्चात खुल्ने एसपी अधिकारीले तराई टप संग भने ।