
सर्लाही, २१ मंसिर । विरामीलाई लग्ने एम्बुलेन्समा गाँजा ओसारपसारको गोरखधन्धा चलाउने एक एम्बुलेन्सलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् ।
नेपाल रेडक्रस सोसाईटी रामनगर बहुअर्वाको नाममा दर्ता रहेका विरामी बोक्ने एम्बुलेन्सबाट साढे ५१ किलोग्राम लागुऔषध गाँजा भेटिएपछि उक्त गोरखधन्धाको पर्दाफाँस भएका हुन् ।
हरिवन नगरपालिका–५ घुर्कौली स्थित हिरालाल टोलमा ज. १ च. १५५८ नम्वरको एम्बुलेन्सको विरामी राख्ने स्थानमा बोरा भित्र राखिएको अवस्थामा लागुऔषधको पोकाहरुलाई प्रहरीले बरामद गरेको छ ।
एम्बुलेन्स चालक रौतहट युमनामाई गाउँपालिका–४ सरुअठाका ३७ बर्षीय सुरेन्द्र राय यादवलाई पक्राउ गरिएको जानकारी दिदै सर्लाही प्रहरीका एसपी योगेन्द्रकुमार खड्काले नियन्त्रणमा लिएका यादवलाई प्रहरी हिसातमा राखेर आवश्यक अनुसन्धान भईरहेको बताए ।
रौतहट र सर्लाहीको सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजाको ठूलो खेपहरु भारत तर्फ तस्करी भईरहेको छ । ९० प्रतिशत लागुऔषधहरु गन्तव्य सम्म पुग्ने गरेपनि १० प्रतिशत मात्रै पक्राउ पर्ने गरेको श्रोतबाट बुझिएको हो ।