
बेथिती र चुनौतीको चाँगलाई क्रमशः सुधार गरेर अघि बढ्ने मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रतिबद्धता
रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा बेथिती र चुनौतीहरुको चाँग रहेको हुँदा क्रमशः सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
यहाँका बेथितीहरु छ, त्यसलाई सिष्टमा ल्याएर सुधारको प्रयास गर्ने छु, सुशासन कायम गर्छु, विकास निर्माणको योजनाहरु अगाडी बढ्न सकेको छैन, विवादित योजनाहरुलाई सुल्झाएर अगाडी बढाउने छु, यहाँका नागरिकहरुलाई अनुभुती होस भनेर नयाँ योजना र रणनीतिहरु ल्याउने छु उनले भने ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रौतहटद्वारा सोमवार गौरमा आयोजित सम्मान एवं अभिनन्दन कार्यक्रम संचारकर्मीहरुद्वारा सोधिएको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री यादवले पहिलो प्राथमिकताको रुपमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारको क्षेत्रमा यो सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।
यो एकल सरकार होइन, सात दलको गठबन्धनबाट बनेको सरकार हो, जुनसुकै निर्णयहरु सात दलकै सहमती एवं समझदारीका आधारमा निर्णयहरु लिएर बाकी अवधी सम्म यो सरकारले मधेशी जनताहरुको इच्छा आकाँक्षा माथि पूर्ण रुपमा खरो उत्रिने विश्वास व्यक्त गरे ।
पुरानोको वारेमा केही बोल्दीन, सात दलको गठबन्धनको आधारमा हिडेमा अगामी निर्वाचन सम्म यो सरकार चल्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे ।
प्रतिनिधि सभाको निर्वाचन, पार्टीको महाधिवेशन, स्थानीय र प्रदेश सभाको निर्वाचनलाई लक्ष्ति गरेर पार्टीको संगठन मजबुत बनाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका प्रदेश सभापति समेत रहनु भएका मुख्यमन्त्री यादवले नेका प्रजातान्त्रिक पार्टी भएको हुँदा न कुनै रंग छ, न कुनै जात छ, त्यसैले एकताबद्ध भएर काम गर्न निर्देशन दिए ।
सबैको एउटै चाहना छ काँग्रेसको विरोधमा छ, कमजोर भएमा बलियो बन्ने छौं, काँग्रेसलाई कमजोर बन्न दिनु हुन्न, पार्टीका हरेक तह तप्कामा पार्टीलाई बलियो बनाउने कार्यमा इमान्दारी पूर्वक लागेका व्यक्तिहरुलाई नेतृत्व दिएर काँग्रेसलाई मधेशमै बलियो बनाउनुपर्ने भन्दै आज जुन सम्मान गर्नुभयो सवै प्रति उनले आभार व्यक्त गरे ।