
कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध, अवस्था तनावग्रस्त
सुनसरी, १७ पुस । सुनसरीको कोशी गाउँपालिका–१ पुरी टोल (लौकही क्षेत्र) मा बुधबार राति तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बल (एसपीएफ) ले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेका छन् ।
सशस्त्र प्रहरीले एकाएक गोली चलाएको आरोप लगाउदै पिडित पक्षहरु आक्रोशित हुँदै प्रदर्शन गरिरहेका हुन् । पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर मृतकको शव उठाउन अस्वीकार गरेका छन् । उक्त क्षेत्रमा तनाव कायमै रहेको बताइएको छ ।
घटनाको विवरणः
बुधवार राति करिब १ः१० बजेको समयमा सीमापारी भारतबाट चिनीका ८–१० बोरा लोड गरी सिटी सफारी अटोरिक्सामा राखेर नेपालतर्फ आउँदै गरेका साहलाई गोली हानीएको छ ।
सशस्त्र प्रहरीले दुईवटा सफारी र एउटा ई–रिक्सालाई रोक्न खोज्दा झडप भएको बताउछन् । तस्कर समूहले प्रहरीलाई ठक्कर दिएर भाग्न खोजेपछि आत्मरक्षाका लागि जवाफी गोली चलाउँदा साहलाई लागेको दाबी गरिएको छ । यस क्रममा सशस्त्र प्रहरीका जवान नवीन खड्का र युगराज खतिवडा घाइते भएको हो ।
प्रदर्शन र मागः
आक्रोशित स्थानीयले दोषीमाथि कारबाही, निष्पक्ष छानबिन र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै शव घटनास्थलमै राखेर प्रदर्शन गरिरहेका छन् ।
मृतक पक्षका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
स्थानीय श्रोतका अनुसार अहिले भारत संग जोडिएका जिल्लाहरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले महिनाबारी रुपमा रकम बुझेर तस्करीको लाईन नै संचालन गरेका छन् । सोही क्रममा लेनदेनको कुरा नमिलेपछि साहलाई गोली हानेर हत्या गरेको आरोप ति श्रोतले लगाए ।
जेनजी पुस्ताका आन्दोलन पश्चात गठन भएका सरकारको नियन्त्रण प्रायः नेपाल प्रहरी र सशस्त्र प्रहरी माथि छैन् । यी दुबै संगठनका जिम्मेवार अफिसरहरु आर्थिक चलखेलमा चुल्लुम्म डुबेका परिणाम नै सुनसरी घटना भएको ति श्रोतको दाबी छ ।