निर्वाचन प्रहरी (म्यादी) मा फारम भर्ने युवाहरु भिडभाड

ओमप्रकाश यादव
रौतहट, २७ पुस । आउदो फागुन २१ मा हुन गईरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि सुरक्षार्थ आवश्यक पर्ने निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा भर्ना हुन फारम भर्नेहरुको भिड लग्न थालेका छन् ।
रौतहट जिल्लामा ३९५१ जना निर्वाचन प्रहरीको आवश्यक्ता रहेको भन्दै सार्वजनिक गरिएको सूचना अनुसार जिल्लामा कतिको वेरोजगारी रहेको युवाहरुको फारम भर्ने भिड देखिएपछि प्रष्ट भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ३ हजार ८ सय ५१ जना मध्ये नेपाल प्रहरीतर्फ ३ हजार ४ सय ६६ जना र सशस्त्र प्रहरी बल, नेपाल तर्फ ३ सय ८५ जना म्यादी प्रहरी भर्ना गरिने सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
सबैलाई सहज हुने र भीडभाड नहोस् भन्ने उद्देश्याट जिल्ला प्रहरी कार्यालयले जिल्लाका चार स्थानबाट आवेदन दिने व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट आवेदन फारम भर्न सकिने व्यवस्था मिलाइएको डीएसपी बस्यालले भने ।
दरखास्त फाराम आउदो माघ १ गतेसम्म (सार्वजनिक बिदा दिन समेत) बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म तोकिएका सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन सकिनेछ ।
निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु पर्नेछ । नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न सक्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता क्रम तोकिएको छ ।
आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नरहेको हुनु पर्नेछ । पुरुष उम्मेदवारको हकमा न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० केजी हुनु पर्नेछ भने महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च, तौल ४२ केजी र गर्भवती नभएको हुनुपर्नेछ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी, पूर्व वनरक्षक, यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीको रूपमा सन्तोषजनक काम गरेका व्यक्ति, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई छनोटमा विशेष प्राथमिकता दिइने जनाइएको छ ।
माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ । छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने छ ।
नेपाल प्रहरीका अनुसार म्यादी प्रहरीको सेवा अवधि नियुक्ति भएको दिन देखि जम्मा ४० दिन सम्म रहने छ । सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केल बराबर पारिश्रमिक उपलब्ध गराइनेछ । साथै, खाना खर्च, तयारी खर्च र खाजा खर्च समेत प्रदान गरिने छ ।