पार्टी विभाजनबाट जोगाउन ‘विष पिउन’ समेत तयार ः शेखर कोइराला

काठमाडौं,२८ पुस – नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सोमबार आफ्ना निकट केन्द्रीय सदस्य, जिल्ला सभापति तथा वरिष्ठ कानुन व्यवसायीसँगको छलफलमा उनले पार्टी विभाजनबाट जोगाउन ‘विष पिउन’ समेत तयार रहेको अभिव्यक्ति दिएका हुन्। नेता डा . कोइरालाले पार्टीको एकता जोगाउन आफूले आवश्यक परे जुनसुकै त्याग गर्न पनि पछि नहट्ने बताएका छन्

कोइरालाले पार्टीभित्र एकता कायम राख्न अन्तिम चरणको प्रयास गरिरहेको उल्लेख गर्दै सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग कांग्रेस कुनै पनि अवस्थामा विभाजन हुन नदिन निरन्तर संवाद भइरहेको जानकारी दिए। उनले भेलामा सहभागी नेता तथा कार्यकर्तालाई धैर्य राख्न आग्रह गर्दै पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र निराश नहुन आग्रह गरे।

छलफलमा सहभागी कानुन व्यवसायीहरूले महामन्त्रीहरूले आह्वान गरेको विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गरे। कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र रहेको भन्दै हालको प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न नमिल्ने कानुनी निष्कर्ष उनीहरूले प्रस्तुत गरेका थिए।

भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटतर्फ जान नदिन दुवै पक्षबीच समन्वय र सहजीकरणको भूमिका खेल्दै कांग्रेसलाई एकताबद्ध बनाउन कोइरालालाई सुझाव दिएका थिए।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाललगायतको सहभागिता रहेको थियो। साथै वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको पनि उपस्थिति थियो।