रौतहट १ मा एमालेलाई ठूलो झट्का, संविधान सभा सदस्य बबन सिंह सहित सयौंद्वारा पार्टी परित्याग

रौतहट, १७ माघ । लामो समय संगठन निर्माण र चुनावी अभियानमा सक्रिय रहेपछि पनि नेतृत्व पक्षबाट भइरहेका अपमान, उपेक्षा र घात–प्रतिघात भोग्नुपरेको आरोप लगाउँदै संविधान सभा सदस्य एवं एमाले नेता बबन सिंहद्वारा नेतृत्वको कार्य शैलीप्रति गम्भीर असन्तुष्टि सार्वजनिक व्यक्त गर्दै एमाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
आज आफनै गाउँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता सिंहले बिरामी अवस्थामा रहेको संगठनलाई सहयोग गरी मजबुत बनाउने काम आफूहरूले गरे पनि नेतृत्वले वाचा अनुसार न त विकासका काम गरे, न सुशासन प्रति नै चासो देखायो, न त संगठन निर्माणमा खटिएका कार्यकर्तालाई सम्मान नै गर्यो, त्यसैले पार्टी परित्याग गरेर आज देखि आफूलाई स्वतन्त्र भएको घोषणा गरेका हुन् ।
“हामीलाई भोट माग्न मात्र प्रयोग गरियो, तर पछि साधारण सदस्यमा सिमित राखियो” उनले गुनासो गरे ।
उनले चुनावका बेला १८–२० घण्टा क्षेत्रमै खटिएर मत मागेको, इमान्दारीका साथ संगठनको पक्षमा काम गरेको स्मरण गर्दै उनले भने, “हामी राम्रो थिएनौँ भने त जनतासँग इमान्दारीको नाममा भोट किन माग्यौ ?”
उनले वर्तमान अवस्थामा बढ्दो हत्या, हिंसा, अव्यवस्था र भ्रष्टाचारको प्रत्यक्ष जिम्मेवारी सरकार र प्रधानमन्त्रीले लिनुपर्ने धारणा राखे । केपी ओली माथि तिव्र रोस प्रकट गर्दैै “प्रधानमन्त्री तपाईं भए, सरकार तपाईंको थियो । तपाईंको पालामा भ्रष्टाचार भयो भने दोष तपाईंले लिनु हुन्न ?” उनले गम्भीर प्रश्न गरे ।
उनका अनुसार, यदि सरकार, प्रशासन र न्यायपालिका जनताप्रति उत्तरदायी भएर इमान्दारी पूर्वक काम गर्दैनन् भने त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी केपी ओलीको नेतृत्वले लिनुपर्छ ।
पार्टीभित्रको आन्तरिक अवस्थाबारे पनि उनले आन्तरिक लोकतन्त्रको गम्भीर अभाव रहेको आरोप लगाए । नेतृत्वको विरोध गर्ने, फरक मत राख्ने वा “खुट्टा नचाट्ने” हरूलाई हेला गर्ने, अवसरबाट वञ्चित गर्ने र राजनीतिक रूपमा समाप्त पार्ने प्रवृत्ति एमालेमा मौलाएको उनको भनाइ छ ।
“हामी संगठन र पार्टीभन्दा माथि व्यक्ति होइन, संगठन नै बलियो हुनुपर्छ भन्ने भ्रममा थियौँ,” भन्दै उनले आफूले गरेको राजनीतिक छनोटलाई ठूलो गल्तीका रूपमा स्वीकार गरे । ठूलो गल्ति भएको बताउदै आज देखि आफू सहित ७०० जना स्वतन्त्र भएको बताए ।
अन्त्यमा उनले भने, “मैले गरेको यो अपराधका लागि म सम्पूर्ण देशवासीसँग माफी माग्छु । अव यस्तो गल्ति हुँदैन । जुन अहंकार र दम्भ छ एमाले नेतालाई अव भोली देखि गाउँ गाउँबाट एमालेलाई सफाई योजना संचालन गरेर राम्रा एवं जनप्रिय नेतालाई सहयोग गर्ने स्पष्ट पारे ।