रौतहट–३ मा कुन्दन कुशवाहाको चुनावी अभियानः अनुभव, पहुँच र ‘वास्तविक विकास’ नै प्रमुख एजेन्डा

रौतहट, १७ माघ । प्रतिनिधि सभा सदस्य पदका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेदवार कुन्दन कुशवाहाद्वारा चुनावी एजेन्डा सार्वजनिक गरिएको छ ।
पत्रकारहरूसँग संक्षिप्त रुपमा कुरा गर्दै एमालेका उम्मेदवार कुशवाहाले आफूलाई विकासमुखी, जन सम्पर्कमा सक्रिय र क्षेत्रको भौतिक पूर्वाधारमा काम गरिसकेको नेताको रूपमा प्रस्तुत गर्दै चुनावी एजेन्डालाई सार्वजनिक गरिएको हो ।
तत्कालिन कटहरिया गाविसका पूर्व अध्यक्ष जादोलाल महतोका छोरा कुशवाहा २०७४ सालको मधेस प्रदेश सभा निर्वाचनमा रौतहट ३ (ख) बाट निर्वाचित भएका थिए । हाल कटहरिया नगरपालिका–४ का स्थायी बासिन्दा रहेका उनी स्थानीय तहदेखि प्रदेश तहसम्मको राजनीतिक अनुभव बोकेको अनुहारको मानिने गरिन्छ ।
“पद गुमाएँ, जनताको साथ भने छोडिनँ”
एमाले प्रवेश पछि आफूले पद गुमाउनु परेको प्रसंग उल्लेख गर्दै कुशवाहाले त्यसलाई राजनीतिक मूल्यको रूपमा व्याख्या गरेका छन् । उनका अनुसार पद गुमे पनि जनतासँगको सम्बन्ध भने टुटेन ।
“रौतहट–३ का ४४ वटै वडाका जनताको दुःख–सुखमा म सधैं साथमै छु,” उनले भने । कुशवाहाले प्रदेश सांसद हुँदा कटहरिया केन्द्रित विभिन्न सडक योजनामा आफ्नो भूमिका रहेको दाबी गरेका छन् ।
विशेषगरीः मलाही–कटहरिया–समनपुर सडक, धनसर–इनरवा–नरकटिया हुँदै कटहरिया जोड्ने सडक आफू लगायतका टीम अहोरात्र खटेर बनाउन लगाएको उनले बताए । रातदिन खटेर अहोरात्र खटेर  योजनाहरु पूरा गरेको सर्वविदितै छ तर यसको श्रेय अरू नेताले लिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
केही नेता आफूलाई विकास प्रेमी भनेर जनतामा भ्रम फैलाउनमा मस्त रहेका छन् । विकासको नाममा ती नेताले सरकारी ढुकुटी खाली गरेको दाबी गरे । “कर जनताको पैसा सरकारको तर नाम ती नेताले र सम्पति माथी बर्चस्व ती कथित विकासप्रेमी नेताको गलत तरिकाबाट गरेको छ” उनले भने ।
उम्मेदवार कुशवाहा क्षेत्रको मुख्य समस्या सरकारी बजेट दुरुपयोग भएको आरोप लगाए । उनका अनुसार कागजमा विकास देखिए पनि जनताको जीवनस्तरमा अपेक्षित रुपमा परिवर्तन आएको छैनन् ।
प्रदेश तहको अनुभवलाई अब संघीय संसदमा उपयोग गर्ने उनको दाबी छ । उनले “समग्र विकासको स्पष्ट खाका” भएको बताएका छन्, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सीमा व्यापार आदिलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिनिधि सभा उमेदवार कुन्दन कुशवाहाले प्रतिवद्धता जनाए ।
आफूलाई अनुभवी, क्षेत्रसँग जोडिएको र विकासका लागि संघर्ष गर्ने नेता भएको बताउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य छापमा मतदान गरी भारी मतले बिजयी बनाउन कुशवाहाले क्षेत्रका मतदाता सहित नागरिक समाज संग विनम्र आग्रह गरे ।