
रौतहट–३ मा एमालेमा पार्टी प्रवेशको लहरः विभिन्न दल परित्याग गरेर दर्जनौं नेता–कार्यकर्ता एमालेमा समाहित
रौतहट, १७ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टी प्रवेशको लहर तीव्र बन्दै गएको छ ।
नेपाली कांग्रेस सहित विभिन्न दल परित्याग गरेका स्थानीय नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्, जसले क्षेत्रको चुनावी माहोल थप गर्माएको हो ।
कटहरिया नगरपालिका–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुन्दन कुशवाहाको हातबाट टीका–माला ग्रहण गर्दै तबारख मन्सुरी, अबिजान मन्सुरी, नेसरुल्लाह, चान महमद सुसैल, अन्जुर, कमरुदीन, ताजुदीन, समसोदीन, इश्राफुल, मोबारख मन्सुरी, सहिद मन्सुरी, सनाउल्लाह र चन्देश्वर साह कानु लगायतका व्यक्तिहरू एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा सहभागी युवा नेता चन्दन कुशवाहाका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत विभिन्न दल परित्याग गरी दर्जनौं नेता, कार्यकर्ता तथा युवाहरू एमालेमा प्रवेश गरेका हुन् ।
उनका अनुसार, “विकास, समृद्धि र सुशासनको स्पष्ट एजेन्डाले युवाहरू आकर्षित भएका छन् ।”
एमाले पक्षले पछिल्ला समयमा प्रवेश गर्नेहरूलाई रौतहट–३ मा पार्टीको जनआधार तीव्र रूपमा विस्तार भइरहेको संकेतका रूपमा व्याख्या गरेको छ । उम्मेदवार कुशवाहाले नयाँ प्रवेशीहरूलाई स्वागत गर्दै क्षेत्रको विकासका लागि साझा अभियानमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
स्थानीय तहमा जारी पार्टी प्रवेश–निर्गमनको श्रृंखलाले चुनावी प्रतिस्पर्धालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने संकेत देखिएको छ । रौतहट–३ मा बढ्दो राजनीतिक ध्रुवीकरण सँगै आगामी फागुन २१ गते हुने निर्वाचन थप चासोको केन्द्र बन्दै गएको छ ।