रौतहटमा चर्चित महिला उम्मेदवार पुनम यादवको चुनाव जित्ने दाबी

प्रेमचन्द्र झा
माघ १५ गते
रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी नेपाली कम्युनिस्ट पार्टीकी एकमात्र महिला उम्मेदवार पुनम यादवले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ। उहाँले आफ्नो उम्मेदवारीसँगै ठूला–ठूला राजनीतिक दलका उम्मेदवारहरूको “निन्द हराम” भएको बताउँदै, क्षेत्रको सांसद बन्ने असली हकदार आफू नै रहेको दाबी गर्नुभयो।

रौतहट क्षेत्र नम्बर ३ मा राजनीतिक दल र स्वतन्त्र गरी करिब ४० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। यद्यपि पुरुष उम्मेदवारहरूको तुलनामा पुनम यादव चुनावी मैदानमा निकै अगाडि रहेको नेकपा फतुवा विजयपुर नगर कमिटी अध्यक्ष अजय तिमिल्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार पुनम यादवको उम्मेदवारीलाई महिला सहभागिता, समान प्रतिनिधित्व र समावेशी लोकतन्त्रको दृष्टिले अत्यन्त महत्वपूर्ण रूपमा हेरिएको छ।

उम्मेदवार यादवले गुणस्तरीय शिक्षा, सुलभ तथा प्रभावकारी स्वास्थ्य सेवा, युवाका लागि दिगो रोजगारी, किसानमुखी कृषि सुधार र जनचेतनाको विकासलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सार्दै आउनुभएको छ। यी आधारभूत क्षेत्रहरूमा सुधार नगरी जनताको जीवनस्तरमा वास्तविक परिवर्तन सम्भव नहुने उहाँको स्पष्ट धारणा रहेको छ।

चुनावी अभियानका क्रममा गाउँ–गाउँमा पुगेर आम नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेकी यादवले महिला भएकै कारण कमजोर ठान्ने सोचलाई यसपटक मतदाताले परास्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ। “महिला हुनु कमजोरी होइन, यो परिवर्तनको शक्ति हो,” उहाँले भन्नुभयो।
उहाँले महिलालाई कमजोर नठान्न आग्रह गर्दै हिन्दू दर्शनमा महिला शक्ति ‘आदि शक्ति जगदम्बा’को स्वरूपसमेत हुने उल्लेख गर्नुभयो। समाज परिवर्तनको मेरुदण्ड महिला नै भएको र राजनीतिक नेतृत्वमा महिलाको उपस्थितिले समग्र शासन प्रणालीलाई न्यायपूर्ण र उत्तरदायी बनाउने उहाँको भनाइ छ।

स्थानीय मतदातामाझ बढ्दो समर्थन र उत्साहले पुनम यादवको उम्मेदवारी रौतहटको चुनावी राजनीतिमा नयाँ आशा र सशक्त महिला नेतृत्वको प्रतीकका रूपमा हेरिन थालेको छ।