रौतहट–३ मा चुनावी तापक्रम चुलिँदैः नेकपाकी पुनम यादवको तीव्र घरदैलो, ‘अवसरको केन्द्र’ बनाउने दाबी

रौतहट, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।
यसै क्रममा नेकपाकी उम्मेदवार पुनम यादव यतिबेला आक्रामक ढंगले घरदैलो अभियानमा जुटेकी छिन् ।
गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी यादवले स्थानीय समस्या, आवश्यकता र सम्भावनालाई केन्द्रमा राख्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरिरहेकी हुन् । उनले कृषि र पर्यटन विकासलाई समृद्धिको आधार बनाउँदै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताएकी छन् ।
उम्मेदवार यादवले आफू निर्वाचित भएमा सुविधा सम्पन्न विद्यालय र अस्पताल स्थापना गर्ने तथा वैदेशिक लगानी भित्रर्याएर ठूला उद्योग सञ्चालन मार्फत करिब १५ हजार युवालाई रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अघि सारिन ।
“रौतहट–३ लाई अवसरको केन्द्र बनाउने स्पष्ट लक्ष्यका साथ म चुनावी मैदानमा उत्रिएकी हुँ,” उनले घरदैलो तथा चुनावी सभाहरूमा दोहोर्याउदै आएकी छिन् ।
यादवले चुनावी कार्यक्रममा तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्दै आफ्नो पक्षमा जनसमर्थन जुटाउन लागिपरेकी छिन् । अभियानमा नेकपाका अन्य नेता एवं कार्यकर्ताहरु पनि सक्रिय देखिएका छन् ।
नेकपा युवा नेता तथा मेयर प्रत्याशी अजय तिमलसिनाले पुनम यादवप्रति जनसमर्थन उल्लेख्य रूपमा बढिरहेको दाबी गर्दै विकास र समृद्धिको एजेन्डा नै पार्टीको मुख्य चुनावी आधार भएको बताए ।
उता, रौतहट–३ मा अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि घरदैलो, सभा र भेटघाटमा सक्रिय देखिएका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रम थप तीव्र हुने संकेत देखिएको छ । क्षेत्रको राजनीतिक माहोल अहिले प्रतिस्पर्धात्मक र निर्णायक मोडतर्फ अघि बढिरहेको छ ।