रौतहट–३ मा एमाले उम्मेदवार कुन्दन कुशवाहाको चुनावी गतिविधि तीव्र, जनसमर्थन बढ्दै

रौतहट, १८ माघ । फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार कुन्दन कुशवाहाले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
क्षेत्रको विभिन्न स्थानमा आयोजित भेटघाट तथा कार्यक्रम मार्फत उनले मतदातासँग प्रत्यक्ष संवाद बढाइरहेका हुन् ।
चुनावी अभियानका क्रममा कुशवाहाले कृषि र पर्यटन क्षेत्रको सम्भावनालाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र रोजगारी मार्फत समृद्धि हासिल गर्ने योजना अघि सारेको छ । उनले क्षेत्रको समग्र विकासका लागि आफूलाई सूर्य चिन्हमा मतदान गरी विजय गराउन मतदातासँग आग्रह गरे । कुशवाहा यसअघि प्रदेश सभा सदस्यको रूपमा काम गर्दा जनजीविकासँग जोडिएका विषयमा सक्रिय भूमिका खेलेको दाबी गरे । उनका अनुसार, आफ्नो कार्यकालमा गाउँ बस्तीलाई मुख्य राजमार्ग सँग जोड्ने पूर्वाधार विकासका काम अघि बढाइएको स्मरण गरे । उनी २०७४ सालको निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (ख) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
एमालेका नेताहरूले पनि क्षेत्रमा आफ्नो पार्टीप्रति समर्थन बढिरहेको दाबी गरे । मधेश प्रदेशका पूर्व मन्त्री नागेन्द्र यादवले कुशवाहाको पक्षमा जनसमर्थन बढ्दो क्रममा रहेको बताउँदै पार्टीको नारा मार्फत विकास र समृद्धिको दिशा तय हुने बताए ।
निर्वाचन नजिकिँदै जाँदा मतदाता माझ चुनावी कार्यक्रम, भेटघाट र एजेण्डा प्रस्तुत गर्ने क्रम अझै बढ्ने देखिएको छ ।