
“परीक्षा एउटै छ भने शिक्षा पनि एउटै हुनुपर्छ” रौतहट–२ मा कांग्रेसका युवा डा. फिरदोस आलम स्पष्ट धारणा
रौतहट, १८ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार डा. फिरदौस आलम चुनावी मैदानमा स्पष्ट र ठोस एजेन्डा सहित अघि बढेको देखिएका छन् । तराई टपका सम्पादक प्रभातकुमार झा सँगको एक्सक्लुसिभ कुराकानीमा उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र खानेपानीलाई मुख्य पाँच वटा मुद्दा एवं एजेन्डालाई प्राथमिकताको सूचीमा राख्दै “अब व्यवस्था होइन, नागरिकको अवस्था बदल्ने यो चुनाव” भएको दाबी गरेका हुन् ।

आईतवार विहानै आफनै घर दैलोमा आएका नागरिक संग सम्बाद एवं समस्या सुन्दै नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलम ।
शिक्षाः काठमाडौ र रौतहट एउटै हुनुपर्छ ?
उम्मेदवार आलमको सबैभन्दा जोडदार एजेन्डा शिक्षा नै हो ।
“देशभर कम्पिटेटिभ परीक्षा एउटै हुन्छ भने शिक्षा किन फरक ?” भन्दै उनले काठमाडौ र रौतहटका विद्यार्थीबीचको असमानता अन्त्य गर्नुपर्ने बताए ।
“समान शिक्षा, समान अवसर र समान परीक्षा—यो मेरो आवाज मात्रै होइन, यो रौतहटका हजारौ विद्यार्थीहरुको आवाज हो,” उनले भने । विद्यालयमा शिक्षक अभाव, भवनको कमी र कमजोर व्यवस्थापनप्रति संकेत गर्दै राज्यले शिक्षा क्षेत्रमा आधारभूत सुधार गर्नैपर्ने धारणा राखे ।
स्वास्थ्यः उपचारका लागि बाहिरी जिल्ला वा भारत जानुपर्ने बाध्यता अन्त्य कसरी हुन्छ ?
स्वास्थ्य सेवा रौतहटका लागि अर्को गम्भीर समस्या रहेको उनको भनाइ रहेको छ । सामान्य उपचारका लागि पनि वीरगञ्ज, काठमाडौ वा भारत तर्फ जानुपर्ने अवस्था लाजमर्दो भएको उल्लेख गर्दै स्थानीय स्तरमै ठोस योजनालाई अघि सारेर गणस्तरिय स्वास्थ्य सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
“प्रत्येक नगरपालिकामा कम्तीमा सेकेन्डरी केयर लेभलको अस्पताल स्थापना गराउँछु । यो असम्भव छैन — केन्द्रबाट बजेट, नगरपालिकासँग समन्वय गरे पाँच वर्ष भित्रमा तयार गराउन सम्भव रहेको दाबी गरे ।” दीर्घकालीन रूपमा मेडिकल कलेज आवश्यक भए पनि तत्काल सम्भव हुने कार्यहरुलाई समाधानमा आफू केन्द्रित रहेको बताए ।
कृषि र रोजगारीः उद्योग बिना युवालाई विदेश जानबाट कसरी रोक्न सकिन्छ ?
कृषि र रोजगारीलाई जोड्दै उनले खाद्य तथा प्रशोधन उद्योग रौतहटमा भित्रर्याउने प्रतिबद्धता जनाए । “यहाँ उद्योग आएन भने युवालाई विदेश जानबाट रोक्न सकिँदैन ।
उद्योगपति सँग कुरा गरेर स्थानीय रोजगारी सिर्जना गर्ने वातावरण बनाउँछु ।” कृषि उत्पादन, प्रशोधन र बजारिकरणलाई एउटै चेनमा जोड्ने उनको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
खानेपानी र सिँचाईः डिपिआर छ, बजेट चाहियो ?
खानेपानी र सिँचाइ रौतहटको पुरानो समस्या भएको स्वीकार गर्दै उम्मेदवार आलमले वाटर ट्यांकी निर्माण, नहरको च्यानल विस्तार र सिँचाइ आयोजना सञ्चालन आफ्नो प्राथमिकतामा रहेको बताए ।
“डिपिआर भइसकेको छ, अब बजेट ल्याउनुपर्ने हो । त्यसका लागि केन्द्रमा आफूले पहल जारी राख्ने हरसम्भव प्रयास गर्ने छु ।”
भदौं २३ र २४ गते भएको जेन–जी पुस्ताको भ्रष्टाचार विरोधी आन्दोलनलाई जनतामा छाएको निराशाको प्रतिवादका रूपमा उनले व्याख्या गरे ।
“नेपाली कांग्रेस पुरानो पार्टी हो, तर आजको अवस्थामा सबैभन्दा नयाँ सोच बोकेको नयाँ पार्टी पनि कांग्रेस नै हो ।” गगनकुमार थापाको काँधमा कांग्रेसले अब व्यवस्था परिवर्तन पछि नागरिकको अवस्था परिवर्तन गर्ने जिम्मा लिएको स्पष्ट पार्दै यसपाली नेपाली काँग्रेसको नेतृत्वलाई विश्वास गर्ने छ जसलाई नेतृत्वबाट अक्षरशः जनताको उत्तरदायीत्वलाई पुरा गर्ने स्पष्ट पारे ।
कुराकानीको अन्त्यमा उम्मेदवार आलमले यो चुनाव नाराको होइन, डेलिभरीको चुनाव हो । “अब जनताले परिवर्तन महसुस गर्ने समय आएको छ, जुन रौतहट–२ बाट सुरुवात हुन्छ ।” क्षेत्रबासीको इच्छा, चाहना र आकाँक्षा माथि खरो उत्रिने विश्वास प्रकट गर्दै आफूलाई जिताएर सदनमा पठाउन समस्त मतदाताहरु संग आलमले आग्रह गरे । विगतका दिनहरुमा नभएका विकासका संरचना एवं पाँच वटा एजेन्डालाई पूर्ण रुपमा पालना गराउन हरदम कटिबद्ध भएर लाग्ने प्रतिबद्धता क्षेत्रबासी समक्ष गरे ।
