रौतहटको विकासमा मेरो ठूलो योगदान छः अनिल कुमार झा

ओम प्रकाश यादव
रौतहट, १३ फागुन । पूर्व मन्त्री तथा रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिलकुमार झाले रौतहटको विकासमा आफ्नो महत्वपूर्ण योगदान रहेको बताए ।
जनचाहना टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधा प्रश्नको सीधा जवाफ’ मा कुराकानी गर्दै नेता झाले आफू उद्योग मन्त्री हुँदा रौतहटमा बेरोजगारी अन्त्य गर्ने उद्देश्यले ठूलो उद्योग स्थापना गर्ने योजना अघि बढाएको बताएका हुन् ।
काँग्रेस उम्मेदवार झाले केही नेता तथा स्थानीयहरुबाट आवश्यक सहयोग नपाउँदा उद्योग सञ्चालन हुन नसकेको उनले दुखेसो पोखे । झा भन्छन् गौर–चन्द्रनिगाहपुर सडकलाई चार लेनमा विस्तार गर्ने पहल पनि आफू मन्त्री हुँदा नै सुरु गरिएको दाबी गरे । उक्त योजना अघि बढेपछि अहिले कामले गति लिएको स्पष्ट पारे ।
यस्तै गौर–पिपरा सडक कालोपत्रे गर्ने योजना पनि आफ्नो कार्यकालमा ल्याइएर बजेट विनियोजन गराई टेण्डर प्रक्रिया पुरा गराएको नतिजा आज सबै समक्ष रहेको स्पष्ट पार्दै गंगापिपरा देखि गौर पुग्ने सडक कहिले पनि कालोपत्रे भएको थिएन आज मज्जाको बाटो बनेको दाबी गरे ।
धर्मपुर घाटस्थित बागमती नदीमा पुल निर्माणको परिकल्पना पनि आफूले नै अघि सारेको र त्यसपछि पुल निर्माण भएको उनले भने ।  रौतहटमा सयौं ठूला विकासका काम आफूले सुरु गरेको उनको भनाइ छ ।
समग्र विकासका लागि आफूले निरन्तर काम गरेकाले यसपटक पनि ठूलो दल नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दिएको उनले जानकारी दिए । आफ्नो कामको मूल्यांकन गर्दै क्षेत्र नं. १ का जनताले आफूलाई विश्वास गर्नेमा आफू ढुक्क रहेको उनले बताए ।
कार्यक्रममा उनले आगामी दिनमा रौतहटलाई अझ विकसित बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।