
नेपाली सेनाको कडा सुरक्षा घेरामा, शान्तिपूर्ण, भयरहित मतदानको वातावरण तयार
रौतहट, १७ फागुन । यही फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गराउन नेपाली सेनाले रौतहट सहित मधेश प्रदेशभरी सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखेको छ ।
मतदान स्थल र केन्द्रहरूमा मतदाताहरू सहज तथा सुरक्षित रूपमा उपस्थित भई मतदान गर्न सकून् भन्ने उद्देश्यबाट नेपाली सेनाले विशेष सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ । विशेष सुरक्षा योजना अन्तर्गत शनिबार रौतहट जिल्लामा नेपाली सेनाको विशेष दस्ता सहितको टोलीले नियमित गस्ती तथा निगरानी कार्यलाई तीव्र बनाए ।
नारायण दल गणका गणपति (कर्णेल) विश्वास विष्टका अनुसार निर्वाचनलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन सेना अहोरात्र खटिएको छ ।
सुरक्षा व्यवस्थामा अत्यन्त सुक्ष्म दृष्टि राखिएको छ, कुनै पनि बहानामा अमर्यादित गतिविधि गर्नेहरु माथि नेपाली सेना सहितको टोलीले नियन्त्रणमा लिएर निर्वाचन ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाउने छ ।
कर्णेल विष्टले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउन नेपाली सेना पूर्ण रूपमा कटिबद्ध रहेको उल्लेख गरे । मधेश प्रदेशका संवेदनशील क्षेत्रमा सुरक्षा संयन्त्रबीच समन्वय बढाइएको छ भने मतदान अवधिभर विशेष निगरानी जारी रहने जनाइएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा संयन्त्रको सक्रियताले मतदातामा आत्मविश्वास बढाएको स्थानीय बासिन्दाहरूको भनाइ छ ।
निर्वाचन हुन केही दिन मात्रै बाँकी रहदा नेपाली सेनको विशेष दस्ता टोलीद्धारा रौतहट सदरमुकाम गौर सहितका स्थानमा गस्ती गर्दै गरेको भिडियो ।
Video Player