
रौतहट–२ बाट नेपाली काँग्रेसका डा. फिरदोस आलमको जित
रौतहट, २४ फागुन । रौतहट–२ बाट नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले ११ हजार ८६ मतको अन्तरबाट नेकपा उम्मेदवार किरण साहलाई हराउदै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको छ ।
डा. आलम पहिलो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको हो । मुलुकभरी परिवर्तनको लहर चलिरहदा रौतहट–२ का मतदाताहरु परिवर्तन गर्दै युवा उम्मेदवार आलमलाई जिताएका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता मोहम्मद आफताव आलमको जेठा छोरा रहेका डा. आलमको पक्षमा २९५२८ मत खसे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं यस अघिका निवर्तमान साँसद साहले १८४४२ मत ल्याएर पराजित भएका हुन् ।
निर्वाचन कार्यालय २ ले उपलब्ध गराएको जानकारी अनुसार रास्वपाका शेख सगिर ९ हजार ३२५ मत ल्याएर तेश्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
निर्वाचित भएका डा. आलम नेपाल सरकारको प्रहरी सेवामा प्राविधिक तर्फको इन्सपेक्टर पदको जागिर छाडेर २०७९ सालमा बुवाको विरासत सम्भाल्न उम्मेदवार दिएका थिए तर त्यस वेला साह संग पराजित भएको थियो । तर यसपाली रौतहट २ का मतदाताहरु साह वाइ वाइ गर्दै आलमलाई आफना प्रतिनिधि रोजेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराए ।
निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिदै डा. आलमले यो जित परिवर्तनको पक्षमा रहेका जनताको हो, यहाँका मतदाताहरुको आशा, भरोसा, आकाँक्षा अनुसार सदैव आफू अघि बढ्ने वाचा गर्दै यहाँ शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी सहितका आधारभुत आवश्यक्ताहरुलाई पुरा गराउने पक्षमा लागि रहने प्रतिबद्धता जनाए ।
यस अघि रौतहट १ र ४ बाट रास्वपा उम्मेदवार जिती सकेको छ भने ३ मा पनि रास्वपा उम्मेदवार निकै अग्रता बनाएको हुँदा उनको जित पनि सुनिश्चित रहेको बताइएको छ ।
डा. आलम जितेर प्रदेशमै नेपाली काँग्रेसको शाखलाई जोगाएका छन् ।