
सन्तपुर घटनामा एकपक्षिय रुपमा मुद्दा दर्ता भएकोमा पीडक भनिएका यादव परिवारको गुनासो
फतुवा विजयपुर नगरपालिका ५ सन्तपुर दोस्तिया स्थित यादव परिवारले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर संचारकर्मीलाई जानकारी गराउदै दलित परिवारको अभिभावक
रौतहट, २९ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया गाउँमा गत साता यादव र दलित समुदाय बीचको झगडालाई लिएर एकपक्षिय रुपमा प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको पिडक भनिएको यादव परिवारले गुनासो गरेका छन् ।
फतुवा विजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियामा गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या मदिरा भट्टीमा बसेर रक्सी खाने क्रममा सामान्य बादविवाद बढेर झै झगडा हुन थालेपछि स्थानीय भुनेश्वर यादवले सम्झाई बुझाइ गर्दा उनी माथि विर्जा राम चमारको छोराले रडबाट टाउकोमा प्रहार गरेर फुटाइदिएका थिए ।
भुनेश्वरको टाउको फुटेर रगत बगिरहेको देखेर उनका आफन्तहरु आक्रोशित भई घटनामा संलग्न व्यक्तिहरु घरमा लुकेपछि सोही आवेशमा आएर उक्त घटना भएको यादव पारिवारका एक सदस्यले स्वीकार्य गरे ।
विहिवार आफनै घरदैलोमा पत्रकारहरुलाई बोलाएर पीडक भनिएका परिवारले गरेको पत्रकार सम्मेलनमा उक्त घटनामा घाइते भएकी दलित परिवारको महिलाको अभिभावक पनि जानी जानी घटना नभएको हुँदा हामी गाउँघरमै मिल्न तयार भईसकेको अवस्थामा मुद्दा दर्ता गराउने कार्यको विपक्षमा हामी रहेको पिडित दलित परिवारले बताए ।
पिडकको आरोप लागेका यादव परिवारका एक सदस्यले हामी सधैं देखि एकै स्थानमा बसेर आपसी भाईचारा, अमनचैन कायम रहदै आएकोमा रक्सीकै कारण सुरु भएको झगडालाई स्थानीय विजय यादव भन्ने व्यक्तिले दलितलाई उचालेर मिडियाबाजी गराई प्रहरीलाई मुद्दा दर्ता गराउन बाध्य बनाएको गम्भीर आरोप लगाए ।
मुद्दा नै दर्ता गर्नु थियो भने पहिलो हाम्रो जाहेरी लिएर दर्ता गर्नुपर्ने जिकिर गर्दै यादव परिवारका सदस्यले पहिला भुनेश्वरको टाउको फुटेर टाँका समेत लागेको भएपनि उल्टै हाम्रो मान्छेहरु माथि मुद्दा दर्ता भएकोमा गुनासो पोख्दै हाम्रो पनि जाहेरी लिन उनले संचारकर्मी मार्फत प्रहरी संग गुहार लगाए ।
घटनापछि आफूले नै प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेर दलित समुदायका बिरजा महरा र निजको छोरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सोही राति १२ बजेको समयमा प्रहरी चौकीमा गएर छुटाएको समेत उनले बताए ।
यता अर्को पक्षले भने घटनालाई बढाइचढाइ गरेर सामाजिक सदभाव खलल पुर्याउन कुनै कसर बाँकी नराखेर घटनालाई राजनीतिक रंग दिई मुद्दा दर्ता गराउदा आफूहरु साह्रै मर्कामा परेको यादव परिवारले संचारकर्मीहरु समक्ष दुखेसो पोखे ।
उनका अनुसार यो घटना कुनै साम्प्रदायिक विवाद नभई युवाहरु बीचको व्यक्तिगत झगडा मात्र थियो ।
तर इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाले आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान कार्य अघि बढाएको छ । प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको तथा अन्य फरार रहेका खोजी कार्य भईरहेको बताइएको छ ।